समृद्धिसँग जोडन शिक्षाको विकास अपरिहार्य : शिक्षामन्त्री पौडेल



काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समग्र शिक्षामा सुधार गर्ने मुलुकले समग्र प्रगति गर्ने बताउनुभएको छ । उहाँले देशलाई समृद्धिसँग जोड्न शिक्षाको विकास अनिवार्य र अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।  निजी तथा आवासीय विद्यालय  अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै सो धारणा राख्नुभएको हो । उहाँले शिक्षा क्षेत्रको विकासमा  निजी क्षेत्रको  सहयोगको मुख्य भूमिका रहने चर्चा गर्नुभयो ।

मन्त्री पौडेलले शिक्षालाई सेवाको रूपमा प्रयोग गर्न आग्रह गर्दै यसलाई व्यापार सोच्न हुँदैन भन्नुभयो । आफूले शिक्षा मन्त्रालयको कार्यभार सम्हाले लगत्तै सबै पक्षसंग सहयोगको याचना गरेको उल्लेख गर्दै सबैको सहायोगबाट मात्र शिक्षा क्षेत्रको सुधार सम्भव भएको बताउनुभयो ।

राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुन्छन् ।त्यसै ले दक्षिण एसियामा नेपाल खुसी हुने मुलुकको पहिलो नम्बरमा परेको उल्लेख गर्नुभयो । भन्नुभयो–जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याए ।
अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रूपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन  शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने बताउँदै त्यसको लागि सकारात्मक सल्लाह दिन प्याब्सन नेतृत्वलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षाको समग्र सुधार गर्न निजी विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो– ‘म प्रधानमन्त्री कार्यालय समेत हेर्ने जिम्मेवारी पाएर मन्त्री भएदेखि समग्र शिक्षाको सुधारको विषयमा विभिन्न सरोकारवाला निकायसँग निरन्तर छलफल जारी राखेको छु । त्यसको कारण मुलुकको शिक्षाक्षेत्रमा सरकारले सुधार गर्न चाहन्छ ।’ कोभिडको कारण अस्तव्यस्त भएको शिक्षालाई सुधार गर्न प्रविधिले महत्त्वपूर्ण भूमिका  खेलेको उल्लेख गर्दै अबको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो ।

उहाँले ससाना विद्यालयलाई मर्ज गर्नुको विकल्प नभएको चर्चा गर्दै सो प्रकृया अघि बढाउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र शिक्षा क्षेत्रको समग्र विकासमा निजी शिक्षालयको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयले राष्ट्रिय पुजी लाई नेपालमै परिचालन गर्न सफल निजी विद्यालयको  लगानीको संरक्षण र  निजी विद्यालयको सुरक्षा गर्न सरकारले भूमिका खेल्नुपर्ने  उल्लेख गर्दै निजी विद्यालयका असन्तुटीको मागलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

‘हामी यो चाहन्छौ कि छत्र वृत्तिमा भएको विभेदलाई अन्त्य गइनुपर्छ, कक्षा ९–१२ मा  निजी विद्यालयलाई पनि प्राविधिक शिक्षा अध्ययनको बाटो खुलाउनुपर्छ, त्यसो भए मात्र निजी र सरकारीमा भएको विभेद अन्त्य हुन्छ’ –उहाँको भनाई थियो ।

हरेक दिन उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको भीडले गिज्याइरहेको जनाउँदै अध्यक्ष पुरीले त्यसको जवाफ राज्यले दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा प्याब्सनका पूर्व अध्यक्ष राजेश खड्कालाई ‘प्याब्सन गौरव सम्मान’ बाट सम्मानित गरिएको छ ।

त्यसै गरी बिएन शर्मा, सानु अमात्य, डोलराज पाण्डे र नारायण अधिकारीलाई ‘प्याब्सन रत्न सम्मान’ बाट सम्मानित गरिएको छ ।  प्याब्सनमा महत्त्वपूर्ण योगदान गरेवापत १० जनालाई प्याब्सनमा प्रेसिडेन्ट अवार्ड प्रदान गरिएको छ । सो अवार्ड पाउनेमा सरोजकुमार राय, वीरेन्द्र ठाकुर, जयबहादुर थापा, नैनसिह खत्री, चन्द्र अधिकारी, हरीदेव खरेल, लेखनाथ पौडेल, रामवावु अधिकारी  र सरोजा श्रेष्ठ हुनुहन्छ ।

त्यस्तै देवी पन्थीलाई अभिभावक अवार्ड प्रदान गरिएको छ ।  शिक्षकहरू  प्रदेश १ का अजय कुमार राजवंशी, मधेस प्रदेशका ज्ञानबहादुर बुढाथोकी र तेजप्रसाद ढकाल, बागमती प्रदेशका इन्द्र लोचन  चौधरी र एम्स स्कुलकी हिमा मोत्तान श्रेष्ठ, लुम्बिनीका लता प्रधान, कर्णाली प्रदेशका डा. बाबुराम भुसाल र सुदूरपश्चिम प्रदेशका भूपेन्द्रबहादुर बलायरलाई शिक्षक दिर्घसेवा पदक प्रदान गरिएको थियो ।

आज बिहीबारसम्म हुने महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा वर्तमान सह अध्यक्ष डिके ढुङ्गाना अध्यक्षमा निर्विरोध भइसकेका छन् । निर्विरोध निर्वाचित हुनेहरूमा महासचिव आरबी कटुवाल, कोषाध्यक्षमा सन्तोषमणि पौडेल, महिला उपाध्यक्षमा सङ्गीता सिलवाल, बागमती उपाध्यक्षमा थकिनकुमार गुरुङ र कर्णाली प्रदेश उपाध्यक्षमा नैनसिह खत्री निर्विरोध भैसकेका छन् ।

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा ४ हजार ७ सय ५० विद्यालयबाट २ हजार ३ सय ३१ प्रतिनिधि सहभागी भएका छन् ।  प्याब्सनका सल्लाहकार समेत रहनुभएका राज्यमन्त्री उमेश श्रेष्ठले पार्टीगत नभै सहमतिको आधारमा पदाधिकारी चयन हुनुपर्ने बताउनुभयो । प्याब्सन अध्यक्ष पुरीले  सहमतिमै कार्यसमिति छनौट गर्नुपर्न बताउनुभयो ।

नेपाल समाचारपत्रकर्मी ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)ले नेपाल समाचारपत्रका वरिष्ठ सहायक सम्पादक ईश्वरराज ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७८  प्रदान गरेको छ । प्याब्सनको १५ औ महाअधिवेशनमा हिजो बुधवार आयोजित कार्यक्रममा पत्रकार ढकाललाई सम्मान गरिएको हो ।

विगत दुई दशकदेखि शिक्षा पत्रकारिता पेसामा लागेका पत्रकार ढकाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले सम्मान गर्नुभएको हो ।  उहाँलाई सम्मानपत्र र २५ हजार नगद सहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले निजी शिक्षा क्षेत्र उन्नयनको लागि निजी विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले अब निजी विद्यालयकै कारण शिक्षा क्षेत्रको विकास भएको दाबी गर्नुभयो । उहाँले संस्थालाई थप प्रोफेसनल बनाएर लैजानुको विकल्प नभएको धारणा व्यक्त गर्दै त्यसको लागि सबैको एकमत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयले लगानीको संरक्षण, सम्पत्तिको सुरक्षा , छात्र वृत्तिमा भएको विभेद हटाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्