इन्धनको मूल्य फेरि बढ्यो



काठमाडौं (नेस) ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

आईओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपियाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपियाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपियाँ ४९ पैसा, हवाई इन्धन आन्तरिक प्रतिलिटर १३१ रुपियाँ ९४ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रिय प्रतिलिटर ११४ रुपियाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार २४० रुपियाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ । सो अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्याँसको बिक्रीबाट एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टितेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन आन्तरिकबाट एक करोड १३ लाख र हवाई इन्धन अन्तर्राष्ट्रियबाट १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।

आईओसीबाट प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपियाँ ८१ पैसा, डिजेलमा ३६ रुपियाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपियाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर १९ रुपियाँ ५१ पैसा, हवाई इन्धन आन्तरिकमा चार रुपियाँ छ पैसा र हवाई इन्धन अन्तर्राष्ट्रियमा प्रतिलिटर ४३ रुपियाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।

१५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टितेल ७७० किलोलिटर, हवाई इन्धन आन्तरिक दुई हजार ७७९ किलोलिटर, हवाई इन्धन अन्तर्राष्ट्रिय चार हजार किलोलिटर र एलपी ग्याँस १८ लाख ९९ हजार २७८ सिलिन्डर खपत हुने निगमको आँकलन छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको प्रतिलिटर १३३, हवाई इन्धन आन्तरिकको प्रतिलिटर १३६, हवाई इन्धन अन्तर्राष्ट्रियको प्रतिलिटर अमेरिकी डलर १ दशमलव २९ र एलपी ग्याँसको बिक्री मूल्य प्रतिसिलिन्डर एक हजार ५७५ रहेको छ ।

सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपियाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपियाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १३ रुपियाँ ३६ पैसा, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १९ रुपियाँ ४९ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रिय मा दुई रुपियाँ आठ पैसा र एलपी ग्याँसमा प्रतिसिलिन्डर २८० रुपियाँ ३० पैसा कर उठाउँदै आएको छ ।

भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर भ्याट र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बिमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्