केयुकेएलको शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने



काठमाडौं (नेस) ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल ई–सेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट कामु उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले गर्नुभयो ।

यो सँगै ई–सेवामार्फत केयुकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, वानेश्वर, महांकालचौर, ललितपुर, महाराजगञ्ज शाखाका ग्राहकले ई–सेवाबाटै महशुल भुक्तानी गर्न सकिने भएको छ ।

यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौं खानेपानी समितिको खानेपानी महशुलसमेत ई–सेवाबाट भुक्तानी गर्न सकिन्छ ।

ई–सेवा प्रयोगकर्ताले मोबाईलबाटै सीधै अनलाइनबाट सीधै शुल्क भुक्तानी गर्न सकिन्छ भने ई–सेवा एकाउन्ट नभएका ग्राहकहरूले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । यसै गरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ई–सेवाका देशभर करिब एक लाख ३० हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्