‘बन्द विद्यालयमा भरिभराउ विद्यार्थी’



काभ्रे ।

पनौती नगरपालिका ५ र बनेपा नगरपालिका ११ को सिमानामा पर्ने धनेश्वर महादेव मन्दिर परिसरमा २०३३ सालमा स्थापना भएको धनेश्वर महादेव आधारभूत विद्यालय विद्यार्थी अभावका कारण ३६ वर्ष पछि बन्द भयो । भूकम्प पछि बन्द विद्यालय चार वर्ष पछि स्थानीयहरूले नगरपालिकाको सहयोगमा पुनः सञ्चालनमा आएको हो । विद्यार्थी नभएकै कारण बन्द विद्यालय अहिले भरिभराउ छ । विद्यालयमा ९२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

‘भूकम्प पछि विद्यार्थी नभएकै कारण विद्यालय बन्द थियो’–विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले भन्नुभयो–‘इतिहास बोकेको घर आँगनमा रहेको विद्यालय विद्यार्थी अभावकै कारण खण्डहर भएको स्थानीयहरूले हेर्न सकेनन । २०७२ सालमा बन्द भएको विद्यालयलाई २०७६ सालमा पुनः सञ्चालन गर्ने निर्णय गरियो ।’ विद्यालयले आयोजना गरेको सहयोगीहरूलाई सम्मान तथा प्रशंसा पत्र वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विद्यालय समाज सुधारको पहिलो आधार भएकाले शिक्षाको गुणस्तर कायम राख्न सिकाइको तहमा वृद्धि हुनु पर्ने बताउनु भयो ।

‘बन्द विद्यालय सञ्चालनका लागि स्थानीयहरूको मेहनत र अपनत्वले शिक्षाको गुणस्तर मात्रै कायम हुँदैन, पाठ्यक्रम र पाठ्य बस्तु केन्द्रित गरी जीवनमुखी शिक्षाको सिकाई लाई बढाउँदै अनुसन्धानमूलक शैक्षिक संरचना निर्माण गर्न सकिन्छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘शिक्षालाई प्रयोगमूलक बनाउन र देखावटी नबनाउन सबै पक्षको सक्रियता जरुरी छ ।’ आमाबुबा पहिलो गुरु भए पनि विद्यालय औपचारिक शिक्षाको पहिलो खुट्किलो भएकाले जीवनको आधारशिला विद्यालय हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।

पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले बन्द विद्यालय सञ्चालन गर्न अभिभावकको सक्रियतामा स्थानीय सरकारको साथ, सहयोग र समन्वय रहेको बताउनु भयो । ‘हामी स्थानीयहरूको भावना र चाहना अनुसार समन्वय गर्न तयार छौँ’–नगर प्रमुख न्यौपानेले भन्नुभयो–‘विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न भौतिक पूर्वाधार र अन्य क्षेत्रको सहयोगलाई निरन्तरता दिनेछौँ ।’ वडा अध्यक्ष श्रीधर उपाध्याय कुइँकेलले वडा मार्फत शिक्षाको विकास र गुणस्तरलाई कायम राख्न सहयोग गर्ने बताउनु भएको थियो । सहयोगीहरू सागर प्रिन्ट प्रालीका शान्ति चौलागाई लगायतले विद्यालयमा सहयोग निरन्तर राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अभिभावक कुमार थापा, शिक्षक प्रतिमा सत्यालले विद्यालयका बारेमा जानकारी गराउनु भएको थियो ।

सेनाले गर्‍यो श्रमदान
विद्यालय भवन निर्माण देखि निरन्तर सहयोग गर्दै आएको नेपाली सेनाको कालीजंग गण धुलिखेलले एक महिना विद्यालयको कम्पाउन्ड वाल निर्माणका लागि श्रमदान गरेको छ । दैनिक एक सय भन्दा धेरै सैनिकहरूले एक महिनासम्म वाल निर्माणमा सहयोग पुर्‍याए सँगै विद्यालयको जमिनको संरक्षण सँगै छिमेकी स्थानीयहरूको आवास समेत सुरक्षित भएको अध्यक्ष अनिरुद्र थापाले बताउनु भयो ।

‘पक्की वाल नहुँदा स्थानीयहरूका २० वटा भन्दा धेरै घरमा बर्सातको पानीले समस्या उत्पन्न हुने गरेको थियो’–अध्यक्ष थापाले भन्नुभयो–‘सेनाको श्रमदान, विभिन्न क्षेत्रका व्यक्तिहरूको सहयोगले ३५ मिटर लम्बाई र १२ फिट अग्लो पर्खाल लगाइएको छ ।’ नेपाली सेनाको टोलीले एक महिनामै उक्त पर्खाल निर्माण सम्पन्न गरेको कालीजंग गणका गणपति कर्णेल मिलन थापाले जानकारी दिनुभयो ।

वडा अध्यक्षले गरे एक लाख सहयोग
बन्द विद्यालय खुल्ला गरी निःशुल्क शिक्षा प्रदान गर्ने विद्यालयको कोष स्थापना गर्न वडा अध्यक्ष श्रीधर उपाध्याय कुइँकेलले १ लाख रुपैयाँ नगद हस्तान्तरण गर्नु भयो । अध्यक्ष अनिरुद्र थापालाई विद्यालय सञ्चालन हुँदाका बखत कोषमा रकम राख्ने र कोषको ब्याजले शिक्षक नियुक्ति गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता अनुरूप आफूले सहयोग गरेको वडा अध्यक्ष उपाध्यायले बताउनु भयो ।

विद्यालयको शैक्षिक उन्नति र प्रगतिका लागि स्थानीय सरकार र व्यक्तिगत सहयोग निरन्तर गर्ने उहाँले बताउनु भयो ।

सहयोगीलाई सम्मान 
विद्यालयले नेपाली सेनाको कालीजंग गण धुलिखेल, सागर प्रिन्ट प्राली, एसओएस बालग्राम, बनेपाको प्रगति पुस्तक भण्डार तथा विभिन्न संघ संस्था र व्यक्तिहरूलाई सम्मान गरेको छ । सेनाले पर्खाल निर्माणमा श्रमदान गरेकोमा सम्मान गरेको हो भने सागर प्रिन्ट प्रालीका शान्ति चौलागाई र लक्ष्मण हुमागाईले मासिक ७ हजार रुपैयाँ विद्यालयको शिक्षकको पारिश्रमिकका लागि सहयोग गर्नु भएको थियो ।

प्रगति पुस्तक भण्डारका सुविन मानन्धरले विद्यालयका लागि आवश्यक पर्ने स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गर्नु भएको थियो । एसओएस बालग्रामले एक जना शिक्षक र अन्य सहयोग उपलब्ध गराउँदै आएको छ । स्थानीयहरू सहकुल थापा, रामकुमार बस्नेत, प्रदीप बोगटी, भीमसेन थापा, बिपना थापा लगायतका थुप्रै व्यक्तिहरूलाई विद्यालय पुनः सञ्चालनमा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याए बापत सम्मान गरिएको थियो ।

 

विद्यालयमा महिलाको नेतृत्व
बन्द विद्यालय खुलाउन स्थानीय अभिभावकहरूले महिलाहरूलाई मात्रै विश्वास गरेका छन् । विद्यालयका प्रधानाध्यापक महेश्वरी थापाले महिलाहरूले पनि नेतृत्व गरेर विद्यालय राम्रो बनाउन सक्ने विश्वास दिलाउन निरन्तर सक्रिय भएको बताउनु भयो । ‘विद्यालयमा थुप्रै समस्या छन् , दरबन्दी छैन, शिक्षक पर्याप्त छैनन्, भएका शिक्षकलाई पारिश्रमिक दिन सकिएको छैन तर पनि विद्यालयमा बालबालिकाको शिक्षालाई कमी हुन नदिई अभिभावकको समेत मन जितेका छौँ’–प्रधानाध्यापक थापाले भन्नुभयो–‘निजी विद्यालयसँगको प्रतिस्पर्धामा हामी अब्बल बन्न चाहन्छौँ र बन्नेछौँ ।’ विद्यालयमा कार्यरत ५ जना महिला शिक्षक कार्यरत हुनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विद्यालयमा भएका प्रयासको प्रशंसा गर्नु भयो । साथै स्थानीय महिला समूहका पदाधिकारीहरूसँग अन्तर्क्रिया गर्दै समाजमा हुने विविध अपराध न्यूनीकरण गर्न, समाज सुधारमा अगुवाइ बन्न र महिलाहरू हरेक क्षेत्रको जिम्मेवारीमा सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गर्न अनुरोध गर्नु भएको थियो । महिला समूहका पदाधिकारीहरूले स्थानीय स्तरमा भएका प्रयासका बारेमा बताएका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीयहरूको प्रयासमा प्रशासनको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्