नेपालगन्ज विमानस्थलको स्तरोन्नति अलपत्र

यहाँको बजेट अन्यत्र गएको भए सरकारविरुद्ध मुद्दा हाल्छौं : मेयर



बाँके ।

नेपालगन्ज विमानस्थलको स्तरोन्नति अलपत्र परेको छ । नेपालगन्ज–दिल्ली उडानको पूर्वाधार विकासका लागि नयाँ टर्मिनल भवन र धावनमार्गको विस्तार गर्ने योजना अघि सारिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँको बजेट कटौती गरिदिएपछि स्तरोन्नति अलपत्र परेको हो ।

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन तीन अर्बको टेन्डर आह्वान भएको थियो । विभागीय मन्त्रीको निर्देशनमा टेन्डर रद्द गरिएको छ । टेन्डर प्रक्रिया अघि बढेर काम गर्नुपर्नेमा रद्द भएपछि नेपालगन्ज विमानस्थलको स्तरोन्नति रोकिएको हो । २०३७ सालमा बनेको विमानस्थलको टर्मिनल भवन साँघुरो भएको छ । पटकपटक गरेर एक हजार सात सय मिटरको धावनमार्ग बनाइएको छ । धावनमार्गलाई दुई हजार पाँच सय मिटरको बनाउने योजना अघि सारिएको थियो ।

नेपालगन्ज काठमाडौंपछिको व्यस्त हुने विमानस्थलमा पर्छ । यहाँबाट दैनिक ५० देखि ६० वटा उडान हुन्छन् । पछिल्लो केही वर्षदेखि नेपालगन्ज–दिल्ली उडानका लागि नियमित प्रयास भइरहेको छ । नेपालगन्ज विमानस्थलको स्तरोन्नति भएमा नेपालगन्ज–दिल्ली उडान सम्भव रहेको छ । पश्चिम नेपालको व्यस्त विमानस्थलको स्तरोन्नति गर्नुपर्नेमा मन्त्रीले आफ्नो क्षेत्रतिर बजेट पार्ने प्रयास गर्दा नेपालगन्ज पछाडि धकेलिएको छ ।

नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जका प्रमुख सुभाष झाले पुरानो टेन्डर तोकिएकाले नयाँ टेन्डर हुने बताउनुभयो । ‘केन्द्रबाट ठेक्का प्रक्रिया अघि बढेको हो । त्यसबारेमा हामीलाई धेरै थाहा हुँदैन’, प्रमुख झाले भन्नुभयो– ‘पुरानो ठेक्का तोडिएको छ । अब नयाँ होला ।’नेपालगन्ज विमानस्थलको स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया अघि बढिसकेर सम्झौता गर्ने बेलामा बजेट अभाव भनेर रोकिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले नेपालगन्ज विमानस्थलको स्तरोन्नतिका लागि छुट्याइएको बजेट अन्यत्र लगिएको हो भने नेपालगन्जवासी चुप लागेर नबस्ने बताउनुभयो । ‘नेपालगन्ज विमानस्थलको स्तरोन्नतिका लागि छुट्याएको तीन अर्ब अन्यत्र लगेको कुरा सुनेको छु । यदि त्यसो हो भने नेपालगन्जबासी चुप बस्दैनन्’, मेयर डा. राणाले भन्नुभयो– ‘हामी तत्कालै यस विषयमा छानबिन गरेर सरकारविरुद्ध मुद्दा हाल्छौं ।’

नेपालगन्ज–दिल्ली उडानका लागि नेपालगन्जका मेयर डा. राणाले लगातार प्रयास गरिरहनुभएको छ । भारतीय पर्यटकलाई मानसरोवरलगायत पश्चिम नेपालको पर्यटकीयस्थल पुग्ने छोटो हवाई उडान हो, नेपालगन्ज विमानस्थल । मानसरोबर जानका लागि भारतबाट ठूलो संख्यामा नेपाल भित्रिने भारतीय पर्यटक अहिले काठमाडौं आएर नेपालगन्ज आउँछन् । नेपालगन्ज विमानस्थललाई दिल्लीसँग जोड्न सकेमा भारतीय पर्यटक सीधै नेपालगन्ज आएर मानसरोवर जान सक्छन् ।

भारतको ठूलो शहर लखनऊ नेपालगन्जदेखि अझ नजिक पर्छ । नेपालगन्ज–दिल्ली, नेपालगन्ज–लखनऊ उडान हुन सकेमा यस क्षेत्रको पर्यटन व्यवसायमा फस्टाउने विश्वास गरिन्छ । नेपालकै पर्यटन विकासमा कोशेढुंगा सावित हुन सक्ने भएकाले नेपालगन्ज विमानस्थलको स्तरोन्नतिमा अघिल्लो सरकारले महत्वका साथ काम थालेको थियो । विभागीय मन्त्रीको लहडीपनले गर्दा नेपालगन्ज विमानस्थलको गुरुयोजना नै अलपत्र परेको छ ।

विमानस्थलको स्तरोन्नति नहुँदा घरेलु उडान पनि असुरक्षित रहेको छ । नेपालगन्जदेखि काठमाडौं, पोखरासँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा उडान हुने गर्दछ । धावनमार्ग नजिकै ठूलो झाडी रहेकाले जंगली जनावरको चुनौती उत्तिकै रहेको छ । केन्द्रबाट आवश्यक बजेट नआउँदा विमानस्थलका सानातिना काम पनि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्