सांसदका लागि आवास बनाउने तयारी



काठमाडौं ।

सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ । आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ ।

सांसदका लागि शहरी विकास मन्त्रालयअन्र्तगत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले भक्तपुरको सानोठिमीमा रहेको नेपाल राष्ट्र बैंकको करिब ७६ रोपनी जग्गामा संयुक्त आवास निर्माणको प्रस्ताव गरेको छ । आयोजनाले धेरै भवन निर्माण गर्दा खर्च धेरै लाग्ने भएकाले चारवटा अपार्टमेन्ट निर्माणको अवधारणा अघि सारेको छ ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठले सांसद आवासका लागि प्रारम्भिक डिजानको काम सम्पन्न गरेर स्वीकृतिको लागि मन्त्रालयमा पठाइएको बताउनुभयो ।

हाल प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ६० जना गरी ३ सय ३५ जना संघीय सांसद रहेका छन् । आवासमा सभा हल, हरियाली पार्कसहितका आधारभूत सेवा सुविधा रहने गरी डिजाइन गरिएको छ ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले चार सय युनिट रहने गरी बनाइने उक्त आवासको एउटा अपाटेमेन्ट दस तलाको हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘प्रतिनिधिसभासभा र राष्ट्रिय सभाका सांसदलाई एकै ठाउँमा राख्ने गरी आवासको डिजाइन गरिएको छ, फाइल मन्त्रालय पुगेको छ ।’

हाल सिंहदरवारमा संघीय संसद भवन निर्माणाधिन अवस्थामा रहेको छ । सिंहदरबार र भक्तपुरको सानोठिमीसम्म छोटो दूरी पर्ने भएका कारणले पनि सानोठिमीमा रहेको जग्गालाई रोजिएको आयोजनाले बताएको छ ।

सरकारले हाल काठमाडौं उपत्यकाभन्दा बाहिरका सांसदलाई मासिक १८ हजार रूपियाँ घरभाडा उपलब्ध गराउँदै आएको छ । घर नहुने सांसदले काठमाडौंमा घरभाडामा पाउन नै मुस्किल हुँदै आएको गुनासो सांसदले गर्दै आएका छन् । सिन्धुलीका सांसद हरिबोल गजुरेलले भन्नुभयो – ‘सरकारले मासिक रूपमा भाडा दिनुभन्दा दीर्घकालीन रूपमा फाइदा हुने गरी आवास निर्माणको काम अघि बढाउनु पर्छ ।’

पाँच वर्षका लागि निर्वाचित हुने सांसदका लागि सहज रूपमा काम गर्ने वातावरण सिर्जना गर्नको लागि पनि सरकारले आवास निर्माणको अवधारणा अघि बढाएको हो । संयुक्त आवास निर्माण गर्दा सांसदहरू एकै ठाउँमा बस्ने र नीति निर्माणको विषयमा छलफल गर्न सहजता हुने नीति आयोजनाले लिएको छ ।

सांसद राजन केसीले सांसदको आवास निर्माण गर्ने योजनालाई प्राथमिकताको साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो –‘नीति निर्माणमा जुटनु पर्ने सांसदका लागि आवासको उचित व्यवस्थापन गर्नुपर्छ, मासिक घरभाडा दिनुभन्दा आवास निर्माण गर्नु नै राम्रो उपाय हो ।’

प्रारम्भिक डिजाइनअनुसार चार वटा अपार्टमेन्ट निर्माण गर्न करिब ६ अर्ब रूपियाँ लाग्ने अनुमान गरेको आयोजनाले यसको लागत अझै बढने आकलन गरेको छ । संघीय संसद सचिवालयले यसअघि सांसदको लागि भैंसेपाटीमा आवास निर्माण गर्न प्रस्ताव गरेको थियो । तर, हाल उक्त जग्गामा संघीय मन्त्री निवास निर्माण भइरहेको छ ।

सचिवालयले दुई वर्षअघि नै सांसद आवास बनाउन शहरी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संघीय सांसदका लागि आवास निर्माण जरुरी रहेको बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले पनि संघीय सांसदका लागि संयुक्त आवास निर्माण गर्नुपर्ने विषयमा चासो राख्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्