कोरोना महामारीप्रति अझै सचेतनाको खाँचो

चीनमा कोरोना संक्रमण पुनः फैलियो



काठमाडौं ।

नेपाललगायतका मुलुकमा कोरोना संक्रमण न्यून हुँदै गएको अवस्थामा चीनमा भने केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेको छ । चीनले संक्रमित क्षेत्रका विद्यालय बन्द गर्नुका साथै संक्रमण भएर निको भइसकेकालाई पनि पुनः परीक्षण शुरू गरेको छ ।

यता नेपालमा भने ‘कोरोना केही होइन, साधारण रुघाखोकी हो, आउँछ जान्छ’ भनेझैं गरी राजनैतिक दलका उच्च पदस्त व्यक्ति, कार्यकर्ताका साथै सर्वसाधारणले हेलचेक्र्याइँ गर्न थालेको भन्दै स्वास्थ्यकर्मीले त्यसो नगर्न सुझाव दिएका छन् । उनीहरूले चीनले फेरि कोरोना फैलन सक्ने चेतावनी दिइरहँदा नेपालमा सुरक्षाको मापदण्ड नअपनाउने हो भने पहिलो र दोस्रो लहरको जस्तै तेस्रोपटक महामारी फैलिन सक्ने चेतावनी दिएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाविरुद्धको खोप लगाउनु फाइदाजनक भएको बताए पनि खोपले कति अवधिसम्म काम गर्छ भन्ने विषयमा केही बोलेको छैन । त्यसै गरी नेपालमा ६० प्रतिशतले खोप लगाएको तथ्यांक सार्वजनिक गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकीले खोप लगाउन किन मन पराएन भन्ने निष्कर्ष उल्लेख गरेको छैन ।
४० प्रतिशत खोप लगाउन बाँकी रहेका नागरिकमा १२ वर्षमुनिका बालबालिका पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ वर्षमाथिका बालबालिकालाई खोप लगाउने विषयमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको स्वास्थ्य मन्त्रालयस्रोतले जनाएको छ ।

नेपालमा कोभिडविरुद्धको २ वटा नयाँ खोपको पनि परीक्षण भइरहेको छ । एउटा खोपको काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल र त्रिवि शिक्षण अस्पतालमा नमुना परीक्षण गरिएको छ । नमुना संकलन गरी अमेरिका पठाइएको र नतिजा आइनसकेको अनुसन्धान परीक्षण टोलीमा खटिएका एक चिकित्सकले बताएका छन् । त्यसै गरी अर्को चिनियाँ कम्पनीको खोप भरतपुर र त्रिशूली अस्पतालमा परीक्षण भइरहेको छ । दुवै खोपको नतिजा आउन समय लाग्ने अनुसन्धान टोलीमा खटिएका सदस्यहरूको भनाइ छ ।

चीनमा कोरोना संक्रमण पुनः फैलियो
सन् २०१९ डिसेम्बरमा चीनको उहानबाट फैलिएर विश्वव्यापी रूपमा जनधनको ठूलो क्षति पु¥याएको दुई वर्ष पूरा हुँदा चीनमा पुनः कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ ।

चीनको राष्ट्रिय आयोगले जनाएअनुसार आइतबार चीनमा एकै दिन ३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आयोगका अनुसार कोरोना संक्रमितको यो संख्या सन् २०२० पछिको दोब्बर बढी हो ।

कोरोना संक्रमितको संख्या बढेसँगै सांघाईमा शैक्षिक संस्थाहरू बन्द गरिएका छन् । चीनमा ओमिक्रोन र डेल्टा भेरियन्ट तीव्र रूपमा फैलिएसँगै उत्तरपूर्वी शहरहरूमा लकडाउनसमेत गरिएको आयोगले जनाएको छ । सन् २०२० मा पनि कोरोना भाइरस फैलिएपछि कडा लकडाउन गरी चीनले कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको थियो । चीनको जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएको र जिलिनमा हरेक दिन संक्रमितको संख्या बढ्दै गएको चीनको राष्ट्रिय आयोगले जनाएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै चीनले निको भएका व्यक्तिमा पुनः परीक्षण शुरू गरेको बताइएको छ । पछिल्लो रिपोर्टअनुसार कोरोना संक्रमणको उपचार गराइरहेकाको संख्या ५ हजार पुगेको छ ।

दक्षिण कोरियामा क्वारेन्टिनमा बस्नुनपर्ने
दक्षिण कोरियाले यही मार्च २१ तारिखबाट लागु हुने गरी विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यसका लागि दक्षिण कोरिया प्रवेश गर्ने व्यक्तिले पूर्ण खोप लगाएको भने हुनुपर्नेछ । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्य रूपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।

क्वारेन्टिनका लागि बस्ने ठाउँ महँगो हुनुका साथै पर्याप्त नभएका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहजरूपमा कोरिया प्रवेश गर्न सकिरहेका छैनन् । यो निर्णयसँगै दक्षिण कोरिया जानबाट बञ्चित पूर्ण खोप लगाएका कामदारहरूमा खुसी छाएको छ । दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान, थाइल्यान्ड, भियतनाम, बंगलादेश, श्रीलंका, म्यानमारलगायत १६ वटा देशबाट कामदारहरू लैजाने गरेको छ ।

अमेरिकामा खोप लगाएका बालबालिकामा संक्रमणको जोखिम कम
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले गरेको एक अनुसन्धानले कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम कम गराएको देखिएको छ । खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा गरिएको उक्त अध्ययनबाट फाइजरको दुई मात्रा खोपले कोरोना संक्रमणमा कमी आएको देखिएको हो ।

खोपका विषयमा सेन्टर फर डिजिजले सन् २०२१ को जुलाइदेखि सन् २०२२ फेब्रुअरी महिनासम्म अनुसन्धान गरेको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमणमा ३१ प्रतिशतले कमी आएको र १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा ५९ प्रतिशत कमी आएको देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्