युक्रेनबाट नेपालीको उद्धार र व्यवस्थापन : गैर आवासीय नेपालीको सफलता



सरस्वती कर्माचार्य, काठमाडौं ।

रूसले युक्रेनमा आक्रमण गर्दैछ भनेर बारम्बार दिएको चेतावनीलाई आक्रमण हुनु अघिल्लो दिनसम्म अर्थात फेब्रुअरी २३ तारिखसम्म युक्रेनमै पनि गम्भीरताका साथ लिइएको थिएन । राजधानी किभका अन्य बासिन्दाजस्तै त्यहाँ रहेका नेपालीसमेतले आक्रमण गरेकै दिन पनि आक्रमणलाई सामान्य रूपमा लिएका थिए ।

सायद यसै कारण हुनसक्छ, आक्रमणअघि परराष्ट्र मन्त्रालयले पनि उद्धारको लागि खासै कुनै तयारी गरेको देखिएन । तर, युक्रेनसँग सीमा जोडिएका स्लोभाकिया, रोमानिया, पोल्यान्ड र हंगेरीमा रहेका नेपाली समुदायले भने तयारी थालिसकेका थिए ।

जर्मनीका लागि तत्कालीन नेपाली राजदूत रमेशप्रसाद खनालले आफ्नो कार्यकालमा मानवीय उद्धारका लागि ती देशमा गठन गर्नुभएको गैर आवासीय नेपाली संघ तथा नेपाली समुदायको टोली युक्रेनमा आक्रमण शुरु भएसँगै सक्रिय हुन थालेको थियो । आक्रमण शुरू भएकै दिनमा यो टोलीले जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासहितको भच्र्युअल बैठक गरी उद्धार र व्यवस्थापनको योजना बनाएको थियो ।

स्लोभाकियामा नेपालीको उद्धार र व्यवस्थापनमा खटिनुभएका जयप्रसाद सिवाकोटी भन्नुहुन्छ–‘पूर्व राजदूत रमेश सरको पालामा बनेको टोली पुनः परिचालित भएको हो । आक्रमण शुरू हुनासाथ हामीले एउटा उद्धार टोली बनायौं । कोरोना महामारीको समयमा पनि खटिएको हुनाले सम्पर्क सहज हुनुका साथै उद्धारको अनुभव पनि भएकोले यसपटक युक्रेनबाट आएका नेपालीको उद्धार र व्यवस्थापन सोचेभन्दा निकै सहज ढंगले गर्न सक्यौं । ’

स्वस्फूर्त रूपमा खटेका नेपाली समुदायको उद्धार कार्य निकै व्यवस्थित र प्रशंसनीय थियो । नेपाली नियोगको जनशक्ति अभावलाई महसुस हुन नदिने गरी रोमानियाबाट कन्सुलर नवराज पोखरेल, स्लोभाकियाबाट उद्धार टोलीका संयोजक जयप्रसाद सिवाकोटी, पोल्यान्डबाट एनआरएनए आईसीसी सदस्य बोधराज सुबेदी र एनआरएनए पोल्यान्डका अध्यक्ष जीवनकुमार केसी, हंगेरीबाट एनआरएनए हंगेरीका अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतका सीमा क्षेत्रका विभिन्न देशमा रहेका नेपालीहरू खटिएका थिए ।

फलस्वरूप युक्रेनमा आक्रमण भएको १३ औं दिन अर्थात ८ मार्चसम्ममा युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक लगभग सबै नेपाली सुरक्षित रूपमा बाहिरिएका थिए । १३ दिनभित्रमा युक्रेनबाट जम्मा ५ सय ८० जना नेपाली सुरक्षित रूपमा बाहिरिएका थिए । तीमध्ये ४ सय ६६ जना पोल्यान्ड, ७८ जना स्लोभाकिया, २८ जना रोमानियामा र ८ जना हंगेरी पुगिसकेका छन् । ९ जना भने नेपाल फर्किसकेका छन् ।

युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो–‘उद्धार र व्यवस्थापनमा गैर आवासीय नेपाली संघ र नेपाली समुदायको साथ र सहयोग निकै महत्वपूर्ण रह्यो ।’ हुन त युक्रेनबाट बाहिरिएका नेपालीहरू नेपाल फर्कनुको साटो प्रायः पोर्चुगल, फ्रान्स, स्पेनलगायतका देशमा गएका छन् ।

तथापि, अझै पनि कोही स्वदेश फर्कन इच्छुक भए सहयोग गर्न तयार रहेको जानकारी दिँदै राजदूत खड्काले भन्नुभयो–‘यदि कोही स्वदेश फर्कन चाहनुहुन्छ भने दुताबासलाई सम्पर्क गरेमा हामी फर्काउन सहयोग गर्नेछौं ।’ स्वदेश फर्कन आर्थिक अभाव भएमा गैर आवासीय नेपाली संघसंगठन, भारतीय दूताबास, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लगायतको सहयोग लिएर भए पनि हामी उहाँहरूलाई नेपाल फर्काउने छौं ।’

स्वदेश फर्काउला भन्ने डर

रोमानियाका लागि नेपाली कन्सुलर नवराज पोखरेलका अनुसार युक्रेनबाट रोमानिया पुगेका अधिकांश नेपाली स्वदेश फर्काउला भन्ने डरका कारण जानकारी नै नदिइकन हतारमा सेल्टर छाड्ने गरेको बताउनुभयो । रोमानियामा कन्सुलरको सम्पर्कमा पुगेका २३ जनामध्ये ३ जना मात्र नेपाल फर्केका छन् ।

अधिकांश नेपाली पोर्चुगल गएका छन् । नेपाल फर्केकामध्ये २ जना आफ्नै खर्चमा फर्केका छन् भने एक जना भारतको सहयोगमा फर्केका हुन् । ६ जना अहिले पनि कन्सुलर पोखरेलले व्यवस्थापन गरेको होस्टेलमा छन् । तीमध्ये ४ जना आजभोलि नै पोल्यान्डतर्फ लाग्ने तयारीमा छन् भने दुई जना रोमानियामै बस्ने भएका छन् ।

युद्धग्रस्त क्षेत्रबाट भागेका नेपालीहरूलाई सुरक्षित गन्तव्य स्थानतर्फ पठाउन सहजीकरण गर्न खटिएका कन्सुलर पोखरेलले अधिकांश नेपालीले घर फर्कन नचाहेकोले आफ्नो बारेमा बताउन हिच्किचाउने गरेको बताउनुभयो । पछिल्लोपटक काठमाडौंका २ जना, प्युठानका २, दाङका २, तनहुँका १, नुवाकोटका १ र भोजपुरका १ गरी १० जनाको समूहले युक्रेनबाट आफूसँग सम्पर्क गरेको सम्झँदै उहाँले भन्नुभयो–‘उहाँहरूले आफूहरूसँग रोमानिया छिर्न कागजपत्र छैन भनेर भन्नुभएपछि मैले दूताबासमा सम्पर्क गरेर ट्राभल डकुमेन्ट बनाइदिए ।

त्यहाँबाट आएर उहाँहरू २ रात हामीले राखेको सेल्टरमा बस्नुभयो । त्यहाँ हामीले उहाँहरूलाई खाने बस्नेलगायतको आधारभूत व्यवस्था गरिदिएका थियौं । उहाँहरूसँग आकस्मिक ट्राभल डकुमेन्ट मात्र भएकोले नेपाल नै फर्कनुपर्छ भनेर त्यहाँको अध्यागमनले भनेको थियो । तर, हामी उहाँलाई उहाँहरूकै चाहनाबमोजिम व्यवस्था मिलाउन खोज्दै थियौं । हामी तेस्रो दिन बिहान उहाँहरूलाई भेट्न गयौं तर उहाँहरू हामीलाई जानकारी नै नदिई राती नै कोठा छाडेर हिँडिसक्नुभएछ ।’

कन्सुलर पोखरेलका अनुसार यसरी राती नै भागेकामध्ये ४ जनासँग युक्रेनको कागजात भएकोले सीमा पार गरेर पोल्यान्ड छिर्न सफल भए, ६ जना भने सीमामै अड्किएर सहयोग मागेपछि फर्काएको हो । तीमध्ये ४ जनाको राहदानी पोल्यान्डबाट मगाएपछि रोमानिया छाड्ने पर्खाइमा रहेका हुन् ।

उहाँ भन्नुहुन्छ–‘नेपाल फर्कन नचाहनेलाई जबर्जस्ती नेपाल फर्काउने गरेका छैनौं । बरू सबै कुरा खुलस्त बताउनुभयो भने उहाँहरूको गन्तव्य स्थल पुग्न मद्दत गर्नेछौं ।’ तर, कुरा नबुझ्दा नेपालमै फर्कनुपर्ने डरले अधिकांश थाहै नदिई निस्केर हिँड्नाले अन्य नेपालीलाई व्यवस्थापनमा कठिनाई पर्नुका साथै अनावश्यक रूपमा होटेलमा बढी पैसा तिर्नुपरेको उहाँले बताउनुभयो ।

त्यस्तै, अनुभव पोल्यान्डमा नेपालीहरूलाई सहजीकरण गरिरहनुभएका एनआरएनए पोल्यान्डका अध्यक्ष जीवन कुमार केसीको पनि छ । पोल्यान्डमा ३ सय १३ जनालाई सहयोग गरेका केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘हामीले बढीमा २ सयसम्मलाई व्यवस्थापन गर्नुपर्ला भन्ने सोचेका थियौं । तर, सोचेभन्दा बढीलाई व्यवस्थापन गर्नुपर्दा एकातिर त्यसै पनि कठिनाई भइरहेको बेलामा झन् हामीले व्यवस्था गरेको आवासगृहमा बस्ने भाइबहिनीहरूले आवास गृह छाड्ने बेलामा जानकारी नै नदिँदा पछि आएकाहरूलाई समयमै आवास गृहमा ल्याउन सकेनौं ।’

उहाँले पोल्यान्डमा त्यहाँको सरकारले युक्रेनबाट ज्यान जोगाएर आउनेहरूको लागि खाने बस्ने व्यवस्था गरेको भए तापनि नेपालीहरूले त्यो सुविधा उपभोग नगरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘त्यहाँ बसेपछि समातेर नेपाल पठाइदेला भन्ने ठूलो डरका कारण नेपालीले त्यो सुविधा उपभोग गरेनन् ।’

युक्रेनबाट छिमेकी देशमा पुगेका अधिकांश नेपालीको अन्तिम गन्तव्य पोर्चुगल रहेको छ । केही थोरैको मात्र फ्रान्स, स्पेन र जर्मनी गएका छन् । पोर्चुगलमा अध्यागमनमा दर्ता भएको ३ महिनापछि कार्ड पाइने र काम गर्न पाइने साथै ५ वर्षपछि राहदानी पनि पाउने भएकोले धेरैको रोजाइमा पोर्चुगल परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्