हिजोआज गाउँ किन गाउँजस्ता छैनन् ?



  • मुक्तिबन्धु

आजभन्दा २५–२६ वर्षअगाडिसम्म गाउँमा गाउँले पाराका घरहरु हुन्थे । घरमा परिवार हुन्थ्यो । घरनजिकै गाईगोठ हुन्थ्यो । भैँसीगोठ हुन्थ्यो । परालका माच हुन्थे । मकैका कुन्यू हुन्थे । नलको चाङ हुन्थ्यो । करेसाबारी हुन्थ्यो । अन्य बारी हुन्थे । खेत हुन्थे । गाउँका युवायुवतीहरु, प्रौढप्रौढाहरु खेतबारीमा काम गर्थे । खेतमा धान, मकै, गहुँ, मास, भटमास फल्थ्यो । बारीमा मकै, कोदो, मास, भटमास, बोडी, तोरी, तरुल, आलु, सखरकन्द आदि फल्थे । उखुबारीमा उखु हुन्थ्यो । खरबारीमा खर हुन्थ्यो ।

कतिका घर कुँडारमा घिरौँला, फर्सी, काँक्रा, बोडी, भ्यान्टा, भिण्डी फल्थे । आँगननिरैको गोठमुनि मलको खाडलवरिपरि कल्कलाउँदा रायोका साग हुन्थे । करेसाबारीमा तोरीको साग, मूला, काउली, बन्दा, सलगम फलिरहेका देखिन्थे । गोठमा गाइभैँसी, खोरमा बाख्रा, टाट्नामा पाडाबाच्छा सबै रामाइला देखिन्थे । ठूला घरमा भकारीहरुमा र साना घरमा थुन्से, डालाडालीमा अनाज राखिन्थ्यो । गरिबभन्दा गरिबका घर–आँगनमा पनि सागपात हुन्थ्यो । भ्यान्टा र खुर्सानीका बोट हुन्थे । बाख्रा, कुखुरा हुन्थे । सुर्का, खोरिया खेती हुन्थ्यो । मिलिजुलीको जीविका हुन्थ्यो ।

गाउँ गाउँजस्तै सुन्दर, शान्त, भरपर्दो ठाउँ लाग्थ्यो । गाउँनजिकै बनबुट्यान चरिचरन हुन्थ्यो । आवश्यक दाउरा–काठ पाइने बन हुन्थ्यो । मानिसहरु काम सकेर फुर्सदमा गाउँनजिकैकौ चौतारीमा जम्मा हुन्थे । बाघचाल खेल्थे । आपसमा दुःख–सुखका कुरा गर्थे । भत्केको बाटो, कुलो, धारा, कुवा मर्मत गर्ने, बनाउने सल्लाह गर्थो । सल्लाहका दिन गाउँलेहरु जुट्थे । मिलेर काम गर्थे । गाउँमा केही ठूलाघरे साहूहरु र जाली फटाहाहरु हुन्थे । त्यसै अनुपातमा सज्जनहरु पनि हुन्थे । अन्याय पर्दा हारगुहार पाइन्थ्यो । शहरियाहरु गाउँलाई ताजा र स्वादिष्ट खाद्य–पेयको समृद्ध भण्डार ठान्थे । यथार्थमा गाउँ त्यस्तो थियो पनि । शहरियाहरु फुर्सद मिलाएर गाउँका इष्टमित्रकोमा जान्थे । ताजा दाल, भात, तरकारी, दही, दूध, घिउ खान्थे र रमाउँथे । फुर्सद सकेर आफ्नो शहर फर्कन्थे ।

गाउँहरु आफ्ना श्रमले आफू पालिएका थिए र शहरलाई पनि पालेका थिए । गाउँबाट अन्न, दाल, तेल, घिउ, तरकारीहरु शहर जान्थे । गाउँहरुले देशलाई आत्मनिर्भरता दिएका थिए ।
अहिले ती गाउँहरु गाउँमा छैनन् । हिजो गाउँ भएका ठाउँमा अहिले उराठ र खण्डहर आएको छ । शून्यता छाएको छ । फाट्टफुट्ट घरहरु छन् । घरमा ओज छैन, ऊर्जा छैन, चहलपहल छैन । हुनुपर्ने श्री छैन, शोभा छैन । लाग्छ, घरहरुमा ज्यान छैन । फाटेका छाना, भत्केका पिँढी । बूढाबूढी रुल्लटुल्ल । विदेशिएका छोराछोरीले पठाएका पैसाले धानिने जीविका ।

साँझ–बिहान लौरो टेकेर गाउँको पसल पुग्छन् चामल किन्न । तेल, नुन, तिहुन किन्न । हिजोका बारी, करेसाबारी, खेतहरु बेत बसेका र दानापानी नपाएर खैँजडी बनेका मरन्च्याँसे भैँसीजस्ता छन् । भैँसी त परिचितलाई देख्दा आइँ भन्दो हो । यी खेतबारी उराठ, उजाड, उदास, बाँझो डङ्रङ्ग छन् । चुपचाप छन् । त्यहाँ चराहरु उड्दैनन् । मौरीहरु भुनभुनाउँदैनन् । सेता, पहेँला पहराका रैथाने बाँदरहरु पनि शहर पसिसकेछन् क्यार ! खै ती पनि यताउँदो देखिँदैनन् । गाउँहरु खेतबारी, बालीनाली र लहलहाउँदो हरियालीले जीवन्त थिए । युवायुवतीका पाखुराले जीवन्त थिए । हिजोका बैँसालु गाउँ आज कता गएछन् ? साँच्चै आज गाउँमा गाउँ छैनन् । यौवनका मणि हराएर रोइरहेका बूढाबूढीजस्ता दुःख लाग्दा डाँडापाखाहरु छन् । र, छिटफुट बाँकी घरहरुमा त्यत्तिकै उदास–उदास बूढाबूढीहरु छन् ।

दोहोरीलत्त मान्छे हिँड्ने पुराना मूल बाटाहरु हिजोआज एक्लै–एक्लै खण्डित, विखण्डित अनुहारमा लम्पसार पसारिइरहेका देखिन्छन् । उकाली र चौबाटाहरुमा चिनेका चौताराहरु पनि परलोक भइसकेका छन् । कुनै कतै देखिँदैनन्, भेटिँदैनन् । गउँलेका साझा धारा, कुवावरिपरिका अजङ्गका चुच्चे आँप, सुपारे आँप, काली आँप र सिन्दुरे आँपका रुखहरु पनि कता दगुरेछन्, एउटै छैनन् । आँपटारीका अग्ला–अग्ला सालका रुखहरुको सदाबहार बन, सिर्सिरे डाँडापाखाका हेरुँ–हेरुँ लाग्दा सल्लाका रुखहरुको बन, अँधेरी खोलाका मझ्यौला बन–बुट्यान सबै लखेटिएछन् । चरिचरन लुप्त छन् । त्यहाँ त अब मोटर गुड्ने सडकहरु खनिएछन् र तिनै सडकको स्वागत गर्न ठाउँ–ठाउँमा अत्यास लाग्दा पहिरोहरु पनि बोलाइएछन् ।

भुत्ल्याइएका खसीबोकाजस्ता तथा ढुङ्गे डाँडाको ठाडी उकालोमा लड्दा दर्फर्याइएका घुँडाजस्ता घाइते डाँडापाखाहरुमा धेरैजसो वडाध्यक्षका डोजरहरुको सवारी चलेका देखिन्छन् । जताततै व्यस्त छन् प्रकृति विनाशक विकास अभियानका डोजरहरु । तल खोलामा बालुवा, ढुङ्गा हसुर्न आएका भोका र अघाएका ट्रकहरुको घुइँचो देखिन्छ । स्वत्व हराउने आशङ्काले खोला–खोल्साहरु डराएका छन् । पानी डराएको छ । डाँडापाखा सबै डराएका छन् । एकाध बाँकी रहेका रुख, पात, लहरा र वनस्पति डराएका छन् । गाउँहरु भयभीत छन् । सन्नाटामय छन् ।

वर्षौंपछि गाउँघर र वरपरको वस्तुस्थिति हेर्दा–देख्दा उब्जेका यी पीडा भावनाका साथ केहरसिंह काकाकोमा पुगेँ । काका पर्खालनजिकै बसेर त्यहीँनिर भुइँमा रहेको एउटा सानो प्वालबाट धमिराहरु उडेका हेरिरहनुभएको थियो । अभिवादन गर्दै नजिकै उभिएर मैले पनि हेरेँ । काकाले भन्नुभयो, ‘चिन्या छौ ? यी धमिरा हुन् । प्वाँख उम्रेपछि उड्छन् । मचाहिँ समय बिताउन हेरिबसेको । जाऊ, बस फलैँचामा । म पनि आउँछु । तिमीले गाउँको बाटो बिर्सियौ भन्ठानेको थिएँ, सम्झेर आएछौ । खुसी लाग्यो ! के गर्ने बाबु, हिजो तिमीले छोडेर जाँदाको गाउँ आज छैन । ज्यूँदै चिहान कुरेर बस्याछु जस्तो लाग्छ । जस्तो लागे पनि बस्नै पर्यो । जाऊँ यो बुढेसकालमा कहाँ जाऊँ ? ल हिँड, बसेरै कुरा गरौँ ।’ यति भनेर काका उठ्नुभयो ।

फलैँचामा बस्नेबित्तिकै मैले सोधेँ, ‘काकी खै त ?’
‘काकी ? काकी घरभित्र कतै कुनातिर बसेर रोइरहेकी होली । बिहान गाँस पनि टिपेकी छैन । पल्ला गाउँमा हिजो एकैदिन तीनवटा बाकस आए । आफ्ना पनि छोराछोरी सबै विदेशमा छन् । चिन्ता त लाग्छ नि होइन बाबु, मैले त आँसु थाम्न सकिनँ । ऊ त आमा मान्छे । छोराछोरी सम्झेर रोइरहेकी छ । फोन गर्न पनि माथि कटरबोटे साहुकोमा पुग्नुपर्छ । आपूmकहाँ नेट छैन । साँझतिर जानुपर्ला भन्ठानेको छु ।’ यति भनेपछि काकाले सोध्नुभयो, ‘के छ बाबु, बुहारी नानीलाई सन्चै छ ? अब त तिम्रा छोराछोरी पनि हुर्किसके होलान् ?’

‘ठिक्कै छ काका, सबै ठिक्कै छ । छोरा पनि हुर्किसके । अहिले अमेरिकामा छन् । उतै पढ्छन् ।’
‘यही हो बाबु, पढ्न पनि विदेश । रोजगारी खोज्न पनि विदेश । पढेर पनि सेवा गर्ने विदेशकै हो । हाम्रो त ज्ञानगुन पनि विदेश, रगत–पसिना पनि विदेश । गाउँबस्तीको हालत उपियाँले छोडेको मुर्दा भनेजस्तो छ । माटोको रमाइलो भनेको मान्छे हो । मान्छे नभएपछि माटो बोल्दैन, हाँस्दैन, गीत गाउँदैन । कतै जात्रा जाँदैन माटो । दोहोरी गीत गाउँदैन । माटो चातारीमा बसेर दुःख–सुखको कुरा गर्दैन । जन्ती जाँदैन । मलामी जाँदैन । न माटोले माटोमा पाखुरी लडाएर खेतीपाती गर्छ । तिमीले देख्यौ नि बाबु, गाउँमा माटो मात्र छ । त्यसको सुवास छैन । मिठास छैन । ज्यान छैन माटोमा । तिमीलाई गाउँको अवस्था देखेर दुःख लागेन ?’

काकाका कुरा सुनेर म अवाक् भएँ । आँखामा आँसु टिलपिलाए । निःश्वास छोड्दै भनेँ, ‘देखेँ काका, देखेँ । मेरो पनि मुटु छियाछिया भएको छ । आपूm जन्मे–हुर्केको र दौँतरीहरुसँग हाँसखेल–ठट्टा गरेको, रसिलो–हँसिलो रमाइलो गाउँ । आज अपरिचित चिच्याट लाग्दो ठाउँ बनेछ । म यहाँ घरमा पस्दा मेरा मनभरि यस गाउँको पुरानो चित्र भक्कानिएर रोइरहेको थियो । त्यसै चित्रमा घोप्टिएर म पनि रोइरहेको थिएँ ।’

‘तिमीहरु पढेगुनेका मान्छेको भाषा त सबै म बुझ्दिनँ । तिमी पनि कमलो मनको मान्छे । तिम्रा पनि आँखामा आँसु त पक्कै भुल्भुलाए होलान् । घरमा हुँदा हाम्रा छोराहरु रामे र किस्ने पनि तिम्रो कुरा गरिरहन्थे । जीवन दाइ शहर पसेपछि हाम्रो गाउँको हंसै उडेजस्तो भयो भनिरहन्थे । के गर्नु बाबु, आठ सालतिर गाउँमा मान्छेलाई सराप दिँदा तेरा घरमा काङ्ग्रेस पसोस् भन्थे । अहिले आएर मुलुकमै काङ्ग्रेस पस्यो । मुलुकको चलिरहेका कलकारखाना सबै विदेशीलाई बेच्यो । मुलुकमा बेरोजगारी बढायो । गाउँबस्तीमा खेतीमा सुधार गर्नेतिर आँखै लाएन । तरुनातन्नेरीलाई कामको खोजीमा विदेश धपाउने परिबन्ध मिलायो । मान्छे बेच्ने कम्पनीहरु खुलायो । पहिले धान–चामल कम्पनी हुन्थे । अहिले धान–चामलचाहिँ विदेशबाट ओसार्न पर्ने बनाएको छ । मान्छे बेच्ने कम्पनीवालाहरु मालामाल छन् । कांगे्रसी सरकारले देश र जतामामाथि अचाक्लीको अन्याय गर्यो बाबु, अत्याचारै गर्यो । त्यही अत्याचारको फल नेपालका गाउँस्तीले भोग्दै छन् । हामी भोग्दै छौँ । म धेरै कुरा त जान्दिनँ । हाम्रो मुलुकमा राजनीति भनेको फट्याइँ गर्नु भइदियो । जति ठूलो फटाहा त्यति ठूलो नेता ।

नेताहरुले आँखा बनेर देश र दुनियाँलाई उन्नति–प्रगतिमा अगाडि लानुपर्ने थियो । त्यस्ता नेता निस्केनन् बाबु, हामीले त्यस्ता नेता खुट्याएर चुनावमा उठाउन र जिताएर पठाउन पनि सक्दैनौँ । चुनावमा जालझेल चल्छ । हामीले भोट नदिए पनि फटाहाले जित्छ । हामी जनताले आपूmलाई मन परेको नेता उठाउन र जिताउन नपाइने संविधान बनाएका छन् । पार्टीले उठाएका फटाहालाई भोट दिनुपर्ने, आफूले जिताई पठाएकाले राम्रो काम गरेन भने फिर्ता बोलाउन पनि नपाइने, यो कस्तो लोकतन्त्र आएछ हाम्रो मुलुकमा ? मलाई त यो लोकतन्त्र होइन, हामीजस्ता जनताका लागि शोकतन्त्रजस्तो लाग्छ । देखेनौ, यी गाउँमा घर–घरको रुवाबासी ? यो यस्तो कसले गरायो ? यही लोकतन्त्रे भनाउँदो सरकारले गराएको होइन ? यो हाम्रो माटो र हामी जनताको भलो गर्ने लोकतन्त्र भएन बाबु, भएन । हुँदै भएन । यसले त देश दुनियाँको सर्वनाशै गर्यो । म परशुराम हुन सकेको भए बन्चरो उठाएर यी सबै जनतामारा नेता भनाउँदाहरुलाई ठुन्क्याइहिँड्थेँ । यतिसम्म झोक चल्या छ बाबु, मलाई । बूढा नसामा रगत उम्लेको छ । के गरुँ सङ्गठन गरी एउटा जत्था बनाएर ती सरकारी फटाहाहरुका विरोधमा निस्कौँ भने गाउँमा तरुनातन्नेरीहरु छैनन् । विदेशिएका छोराछोरीले पठाइदेलान् र खाऊँला भनेर टामाटुमी बसिरहेका आशामुखी बूढाखाडाहरु छन् । म पनि बूढो भएँ । भर्याङ उक्लँदा स्वाँ–स्वाँ हुन्छ ।’

यति भनेर काकाले लामो निःश्वास छोड्नुभयो । मैले आँखा उठाएर उहाँको अनुहार हेरेँ । आँखामा आँसु र अनुहारमा भयङ्कर रोषभाव थियो । म बिलखबन्द गाउँमा बिलखबन्द काकालाई हेरेर बिलखबन्द टोलाइरहेँ । पर डाँडामाथि अस्ताउन ठिक्क परेको बिलखबन्द सूर्य पनि पहेँलो अनुहार छरेर हामीलाई हेर्दै गौँडो ओर्लने तरखरमा देखियो । प्रकृतिमा आफ्नै विम्ब देखेर सम्हालिँदै मैले मनमनै भनेँ– अहिले रात परेको छ । रात बितेपछि त नयाँ सूर्य उदाउँछ नि ! पक्कै उदाउँछ । आँखा फारेर त्यसै सूर्यतिर हेरेँ । मेरो आँखामा आँखा मिलाएर सूर्य मुसुक्क हाँस्यो ।

प्रतिक्रिया दिनुहोस्