विद्युतीय आरओ प्लान्ट हस्तान्तरण



काठमाडौं (नेस) ।

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रूपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पकडी शाखाले एक विशेष कार्यक्रमकाबीच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागि स्वचालित विद्युतीय आरओ प्लान्ट हस्तान्तरण गरेको हो ।

स्वस्थ जीवन यापनका लागि शुद्घ खानेपानी अति आवश्यक रहेको बताउँदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आरओ प्लान्ट हस्तान्तरण गरिएको बताउनुभयो ।

उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्