शानदार जागिर तर उदास ‘रिटायर्ड लाइफ’



  • पेशल आचार्य

पूर्वगृहसचिव पद्मप्रसाद पोखरेल दशकअघि रिटायर्ड भए । छोराछोरी सबै हुर्किसकेका उनी अहिले एक्लो जीवन बिताइरहेका छन् । काम नभएर त होइन तर गर्न नसकेर रिटायर्ड जीवनमा तास खेलेरै दिन बिताउँछन् । खेली साथ लाग्ने साथीहरू कोही नहुँदा एक्लै पनि तासका बुकसँग खेलेर दिन बित्छ उनको । रिटायर्ड लाइफमा पत्नीले छाडेर गैसकेकी उनीजस्ता विधुर राष्ट्रसेवकहरू जागिरमा हुँदा भएको पोज, हङ्कीडङ्की र तीतो कर्कश व्यक्तित्वका कारण न समाजमा घुलमिल हुन्छन्, न अवकाशपछिको शानदार जीवन बिताउँछन् ।

अवकाश नै नहुने पेसाहरू नेपाली समाजमा नभएका होइनन् । पत्रकारिता, प्राध्यापन, वकालत, चिकित्सा, शिक्षण, कलाकारिता र लेखनजस्ता पेसामा व्यक्तिले सितिमिति रिटायर्ड हुनै पर्दैन । जीवनका अन्तिम घडीसम्म स्किलफुल मानिसलाई काम भ्याइ नभ्याइ हुन्छ ।

गत २०७७ असारमा ‘शताब्दी पुरुष’ संस्कृतिविद् सत्यमोहन जोशीलाई आफ्नो निबन्धात्मक कृति ‘ब्याक बेन्चर’ उपहार दिन जाँदा जोशीजी आँखामा चश्मा नलगाई किताब सम्पादनमा बिजी थिए । कुराकानीमा उनले ‘आफू अहिले आफ्नाबाहेक अरूका चारवटा किताबको हार्डकपी सम्पादनमा लागेको बताए । घरभरि किताबै किताब असरल्ल उनले हामीलाई किताबै उपहार दिए । लेखक बाँचुन्जेल लेखिरहने पेसा हो । वरिष्ठ पत्रकार भैरव रिसाल ९० माथिका भए पनि अझै पत्रपत्रिकामा लेख लेखिरहन्छन् ।

खोजी पस्दा सिर्जनात्मक कर्ममा रमाएका हाम्रो देशमै लेखक, कवि, कलाकार, पत्रकार, वकिल, प्राध्यापक, शिक्षक र राजनीतिक विश्लेषकहरू साठी/सत्तरी माथिका धेरैजसो छन् । सफ्ट आर्टमा लागेकाहरूले कहिल्यै रिटायर्ड हुनु नपर्ने रहेछ । जीवन बाँच्नका लागि जुनसुकै पेसामा जुटे पनि रिटायर्ड भैसकेपछि शानको जीवन बरू ती पो हुने रहेछन् ।

एकजना जागिरे हितैसी छन्, तिनी प्रायः कुराकानीमा हँसाइरहन्छन्– ‘सानै पदमा भए पनि बहालवाला रिटायर्डभन्दा ठूलो हो । रिटायर्ड रिटायर्ड नै हो ।’ उनका कुरामा कहिलेकाहीँ म घन्टौंसम्म झुक्किन्छु । विदेशमा हाम्रोजस्तो चलन छैन ।

केही हप्ताअघि नेपाल पुलिसका रिटायर्ड प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह (जो राम्रा कथाकार हुन्) ले आफ्नो जागिरमा सँगै काम गरेका समकालीन, समवयी र आफूभन्दा जुनियरका दैनन्दिनलाई मार्मिक शब्दमा प्रस्तुत गर्दै फेसबुकमा लेखे । उनको सो अनुभूतिमा धेरैले प्रतिक्रिया दिए । प्रतिक्रियाका लहरमा धेरै नकारात्मक थिए । भनेको मतलब नेपाली समाज बलेको आगो ताप्छ । पदमा हुन्जेल पुज्छ तर पद खुस्केपछि कौडीको भाउमा गन्दैन । जत्रोसुकै पावरवाला किन नहुन् ।

गएको फेब्रुअरी १५ तारिखमा शाहले पोष्ट गरेका छन्– ‘प्रहरी नायब महानिरीक्षकको तीसबर्से सेवाअवधि पूरा भएपछि अवकाश पाएको केही समयपश्चात् मलाई आफूसँग काम गर्ने व्यक्तिहरूसँग सम्पर्क गरी आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ कि देखिँदैन जान्न मन लाग्यो । मैले मेरो पहिलेको ड्राइभरलाई फोन गरेँ । त्यो ड्राइभरको वृत्ति विकासका लागि धेरै काम गरिदिएको थिएँ । रिङ्गटोन बजिरह्यो तर उसले फोन उठाएन । दुई–तीनपटक फोन गर्दासमेत फोन उठेन । त्यसपछि मैले मेरो गार्डलाई फोन गरेँ । गार्डलाई म धेरै माया गर्थें । उसलाई धेरै अवसर दिलाएको थिएँ । उसले पनि पहिलोपटक फोन उठाएन । दोस्रोपटक फोन उठायो र भन्यो– सर म त बिजी छु । त्यसपछि उसले फोन काट्यो । मैले आफ्नो पीए बसिसकेको प्रहरी अधिकृतलाई फोन गरेँ । आधा रिङ बज्यो र त्यसपछि आवाज आयो– तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।

मतलब उसले मलाई ब्लक गरिसकेको थियो । मैले एक व्यक्तिलाई फोन गरेँ । म शक्तिमा छँदा ऊ मलाई पटक–पटक फोन गथ्र्यो र स्टार होटलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोध मात्र होइन, अनुनय विनय गथ्र्यो । उसले फोन उठायो र हाँस्दै भन्यो– सर, घरमै बसिबसाइ होला, होइन त ! म काममा छु सर । एकछिन् पछि आफैँ कल गर्छु । म चुप लागेँ । उसले सोच्यो, मैले फोन राखिसकेँ । उसको पछाडिबाट आवाज आयो– को हो ? उसले भन्यो– रिटायर्ड डीआईजी हो यार ! अब यसको के काम स्साला ! म सत्ता र शक्तिमा हुँदा प्रायले भन्ने गर्थे– ‘यो साहित्य वाहित्यमा के राखेको छ र ! यत्रो पदमा पुगेको मान्छे !’ मलाई थाहा थियो, यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम र क्षणिक छ । त्यसैले मैले सधैँ आफ्नो पेसालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ ।’

डीआईजीभन्दा पनि कथाकारका आवरणमा जमेका महेशविक्रम शाहको यो स्टाटसमा वास्तवमा मीठो कथा छ । हाम्रो समाज पदमा हुन्जेल पदवालाहरूको आरती गाउन पछि पर्दैन तर पदबाट छुट्कारा पाउनासाथ उसलाई तीन कौडीको मूल्याङ्कनसमेत नगर्ने परिपाटी रहेको छ । यो भनेको शक्तिपूजक प्रवृत्ति हो । हुन त देउताका पालादेखि नै हामीले शक्तिशाली र रिसाहा देवताहरूलाई मात्र पुज्ने गरेका रहेछौं । त्यसैले सोझो ग्रह र देवताको पूजाआजा हुँदैन । सृष्टिकर्ता ब्रह्माको मन्दिर संसारभर अत्यन्त कम रहेका प्रमाण छन् ।

समाज विकसित हुँदै विधि, प्रविधि र कानुनमा आधुनिक शैली र शिष्टताको महक चम्किँदै जाँदा क्रमशः श्रमपूजक समाज हुँदै जानुपर्नेमा ठीक उल्टो शक्तिपूजक समाज हुँदै जानुले लोकतन्त्र या गणतन्त्र जे आए पनि भुइँ तहका जनतालाई विपद् या असामान्य अवस्थामा केही लछारपाटो लगाउनेवाला भएको देखिएन । यस्तो अवस्था समाजमा पन्पिँदै गएपछि जो कोही पैसा र पावर नभई बाँच्न नसकिने रहेछ भन्ने कुरा बु्झ्छन् र अन्ततः सबै बलेको आगो मात्र ताप्छन् । अहिले भएको यही हो ।

जीवनभर प्रशासनमा रहेर काम गरेका र जागिरको उत्तरार्धमा धेरै जिल्लामा सीडीओसमेत भएर जागिर खाने अति बाठा खल्ली पाराका एकजना स्याङ्जातिरका पोखरेल थरका व्यक्तिलाई देवघाटमा मजाले फ्ल्याट भाडामा लिएर बसेको देखेपछि कुराकानीको पोकोपुन्तुरो खोल्दै उनले बिसाएथे– ‘जागिरे हुन्जेल आफू एकछिन् नहुँदा संसार रोकिन्छ जस्तो लाग्थ्यो तर त्यो सब भ्रम रहेछ । हामी नहुँदा संसार त्यसै गरी चलिरहेको छ, जसरी हामीभन्दा अघि चलिरहेको थियो ।’ कुरोको चुरो अति मार्मिक छ ।

जापानको क्योटो विश्वविद्यालयमा ‘दक्षिण एसियाको अर्थशास्त्र’ पढाइरहेका नेपाली युवा भिजिटिङ प्रोफेसर दीपेश घिमिरे नेपाली र विदेशीको रिटायर्ड लाइफका बारे चोटिलो गरी लेख्छन्– ‘नेपालजस्तो देशमा कुनै पनि पेसाको सेवानिवृत्त जीवन खासै सन्तोषजनक छैन । यसका पछाडि धेरै कारण छन् । यद्यपि केही कारण प्रमुख देखिन्छन् । पहिलो, सेवानिवृत्त जीवनमा गुजारा चल्न पुग्ने पैसो हुँदैन । निवृत्तिभरणको कमीले न त प्रभावकारी सामाजिक सुरक्षा छ, न त राज्यले अप्ठ्यारो सजिलोमा हेर्छ ।

पैसाको अभावमा बालबच्चाले पनि अभिभावकलाई बोझको रूपमा लिन्छन् । जीवनभरि कमाएको पैसा छोराछोरीको शिक्षा, स्वास्थ्य र क्यारियरमा खर्च गर्ने अभिभावक बुढेशकालमा सामान्य आवश्यकता परिपूर्ति गर्न नसक्ने, औषधिसमेत किन्न नसक्ने गरी जीवन बिताइरहेका छन् । न त राज्यले हेर्छ, न त आफन्तले । दोस्रो, रिक्रिएसनका अवसर बुढेसकालमा छँदै छैन । घुमफिर गर्न टाढा जान नसक्ने, नजिक रिक्रियसनका कुनै पनि अवसर नहुने अवस्था छ । रिटायर्ड नहुने पेसा समय र स्थान अनुसार फरक–फरक हुन्छन् । जस्तै– पत्रकार, वकिल कहिल्यै रिटायर्ड हुनुपर्दैन । शिक्षक र प्राध्यापकले रिटायर्ड हुनुपर्दैन । लेखक र कलाकारले पनि अन्य पेसामा जस्तो सेवानिवृत्त हुनुपर्दैन ।’

विदेशमा सेवा निवृत्तपछि जोसुकै कामकाजीहरू घुमेर जीवन बिताउँछन् । उनीहरूका घुमन्ते शैलीलाई पुष्टि गर्नकै लागि अङ्ग्रेजीमा भनिएको होला ‘ट्राभल ब्रोडेन्डेड द माइन्ड’ याने यात्राले दिमागलाई चौडा बनाउँछ । अनि उनीहरू विश्व घुम्न निस्कन्छन् ।

धरानतिर एकजना कर कार्यालयमा खरदार दाजु थिए । उमेरमा कुस्त पैसा कमाए । भन्थे– ‘आफू त उड्नेमा हेलिकोप्टरदेखि गुड्नेमा बसबाहेक सबै खाइन्छ ।’ खानपिनमा धितधरान छाड्ने, क्रीडाकेलीमा अति रमाउने उनले तीनवटी त देखिने गरी बिहे नै गरे । नदेखिने त कति–कति ! जब रिटायर्ड भए अनि सुगर, प्रेसर, युरिक एसिडदेखि सबै रोगका घर भए । विचरा अन्ठावन्नमा जागिरको पेन्सन भो । साठी वर्षमा बिते ।

यही शैलीलाई हेरेर भनिएको होला– ‘खाई सार न लाई सार मरेपछि लम्पसार ।’ जागिरेले कहिल्यै विचार नगर्ने तीन कुराहरू हुन– ‘आहार, विहार र व्यायाम ।’ अर्का एकजना पुलिसमा डीएसपी थिए । पोहोर साल कोरोनामा रिटायर्ड लाइफमै बिते । हाकाहाकी भन्थे– ‘तीसौं वर्ष जागिर खाँदा मासु र रक्सी कहिल्यै किनेर खाइएन ।’ यस्तो जीवनशैली भएपछि जागिरेको गति बिग्रेको पुरानो ट्रकजस्तो किन नहोस् ? जति बनाए पनि कहिल्यै तन्दुरुस्त नहुने ।

लोक सेवा आयोगमा दशक काम गरेका एकजनाले कुरामा कुरा चल्दा भनेथे– ‘अघिल्लो दिन एकजना दुर्जन स्वभावका सुब्बाको रिटायर्ड भयो । भोलिपल्ट उनी तरकारी पसलबाट साग किनेर फर्कंदै थिए । बाटोमा हिजो सँगै काम गरेको पियन भेट भए । सुब्बा पियनसँग बोल्न खोजे तर पियनले मुन्टो फर्काई नबोली उनको बाटो लागे । विचरा सुब्बा ! एक भन्नु न दुई भन्नु भए !’ हिजोसम्म पियनलाई धुरूधुरू रुवाएर काम अराउने ती सुब्बाले शायद भोलिपल्टै आफू एक्लो महसुस गरे होलान् ।

कुमार ज्ञवाली नेपाली कथामा स्थापित नाम हुन् । उनी परराष्ट्र सचिवबाट रिटायर्ड भएको एक महिनामै दिवङ्गत भएथे । क्रियाशील लेखक भएका भए उनी केही समय बाँच्ने थिए । उनको अन्तर्मुखी स्वभावलाई लामो समयदेखि अध्ययन गरेका उनका समकालीन परराष्ट्रकै कर्मचारी भन्छन्– ‘सरकारी जागिरलाई ‘लम्बा रेसका घोडा’ भन्नेहरू पनि ‘शानदार जागिर तर बोझिल रिटायर्ड लाइफ’ देख्दा दिक्क हुन्छन् ।’ यो भनेको समाज स्वार्थी हुँदै गएको प्रमाण हो । नयाँ पुस्ताले यसमा परिवर्तन ल्याउनुपर्छ । यसैमा वरिष्ठ नागरिकहरूको कल्याण लुकेको छ । वृद्धाश्रमहरूमा जाँदा विविध कथा/व्यथा भएका वरिष्ठ नागरिकहरू र रिटायर्ड व्यक्तित्वहरू बग्रेल्ती भेटिन्छन् ।

प्रतिक्रिया दिनुहोस्