लगातार उत्कृष्ट बन्दै मकवानपुरको थाहा नगर



हेटौंडा ।

उत्तरी मकवानपुरको थाहानगर यस वर्ष पनि उत्कृष्ट घोषित भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा थाहा नगर फेरि उत्कृष्ट ठहरिएको हो ।

आयोगले गरेको कार्यसम्पादन मूल्यांकनअनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको छ । थाहा नगरपालिकाकाले आयोगको मूल्यांकनमा ७० दशमलब ०८ अंक प्राप्त गरेको थाहा नगरपालिका स्थानीय तह कार्यसम्पादन प्रगति अनलाइन रिपोर्टिङ फोकलपर्सन सुरजकुमार भुजेलले जानकारी दिनुभयो । आयोगले तोकेको सूचकमा पालिकाले राम्रो काम गरेको भए पनि रिपोर्टिङमा गरे भन्दा कम अंक पाएकाले पुनर्मूल्यांकनका लागि प्रमाण पेस गरिने उहाँले बताउनुभयो । नगर प्रमुख लवशेर विष्टले सबैको निरन्तर सहयोगका कारण सफलता मिलेको र यस्तो सफलतालाई निरन्तरता दिइने विश्वास दिलाउनुभयो ।

आयोगले फागुन १८ मा कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्दै तथ्यांक र प्राप्तांकमा परिमार्जन गर्नुपरे ठोस प्रमाणसहित ७ दिनभित्र कार्यविधिबमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।आयोगको मूल्यांकनअनुसार सबैभन्दा कम प्राप्तांक मनहरी गाउँपालिकाले ४४ दशमलब १३ अंक पाएको छ ।

मकवानपुरगढी गाउँपालिकाले ६५ दशमलब ०७, बकैयाले ६१ दशमलब ८८, राक्सिराङले ६०, कैलाशले ५६ दशमलब ९९, भीमफेदीले ५६ दशमलब ४५, वागमतीले ५३ दशमलब १७, इन्द्रसरोवर गाउँपालिकाले ५१ दशमलब ०२ र हेटौंडा उपमहानगरपालिकाले ४५ दशमलब ७३ मूल्यांकन अंक पाएको छ । आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन–२०७४ बमोजिम वार्षिकरूपमा मूल्यांकन गर्ने गर्दछ ।

बेरुजु फछ्र्यौट गर्ने विषयमा पनि थाहानगर उत्कृष्ट भएर पुरस्कृत हु“दै आएको छ । आर्थिक वर्ष २०७४-०७५ सम्मको बेरुजु अंकको ६दशमलब ६ प्रतिशत फछ्र्यौट गरेकोमा थाहा नगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको छ ।
आर्थिक वर्ष २०७५-०७६ को लेखापरीक्षणबाट २ दशलमव ५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित मन्त्रालयले थाहा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको थियो । बेरुजु फछ्र्यौट कार्ययोजना र मार्गदर्शनअनुसार उक्त कार्यमा सहभागी कर्मचारीलाई प्रशंसापत्रसहित १० हजारले पुरस्कृत गर्न भनिएको छ ।

बेरुजु फछ्र्यौटको अवस्थामा सुधार गरी थाहा नगर महालेखा परीक्षकको ५७औं प्रतिवेदनअनुसार देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो । बेरुजु फछ्र्यौटमा नेपाल सरकारको सचिवस्तरीय निर्णयबाट थाहालाई देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित गरिएको हो ।थाहा नगर त्यसको अघिल्लो आर्थिक वर्षमा पनि देशकै उत्कृष्ट–४ मा परेको थियो । त्यसलाई सुधार गर्दै आव २०७५-०७६ मा देशकै पहिलो स्थानीय तह बन्न सफल भएको हो । देशका ७ सय ५३ स्थानीय तहमध्ये थाहा नगरमात्र पुरस्कृत स्थानीय तह हो ।

महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा ४ प्रतिशतभन्दा कम बेरुजु हुने कार्यालयको आर्थिक अनुशासन राम्रो भएको मानिन्छ । बेरुजु फछ्र्यौट कार्ययोजना र मार्गदर्शनअनुसार उक्त कार्यमा प्रत्यक्ष सहभागी कर्मचारीलाई प्रशंसापत्रसहित पुरस्कृत गरिएको छ ।स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको लेखाजोखा विधिको मूल्यांकनमा पनि थाहा नगर जिल्लाकै बढी अंक पाउने पालिका घोषणा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि शाखाले गरेको मूल्यांकन प्रतिवेदनमा थाहा नगरपालिकाले ६३ अंक प्राप्त गर्दै जिल्लामै बढी अंक प्राप्त गर्ने पालिका हुन सफल भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनमा बकैया गाउ“पालिकाले ४८, इन्द्रसरोवरले ४५, कैलाशले ४० र राक्सिराङले ३६ अंक प्राप्त गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्