हेफर साझेदार पालिका र नबिल बैंकबीच सहकार्य



पाल्पा ।

उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पा बीच सम्झौता भएको छ ।

पाल्पाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रमका नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रूपान्तरणमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तीर्थराज रेग्मीले नविल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठूलो टेवापुग्ने बताउँदै कृषि तथा पशु उद्यमशीलताको मूल्यश्रृंखलालाई अझ मजबुत बनाउँदै हेफर इन्टरनेसनले यस सम्झौता पत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै यस अभियानमा सहभागी नविल बैंक लिमिटेड प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवम् तानसेन नगरपालिकाका प्रमुख शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन आजको सम्झौलाई इतिहासमै निकै महत्वपूर्ण दिनको रूपमा लिएको बताउँदै विगतमा सम्झौताहुने तर कार्यान्वयनमा ढिला सुस्तीहुने अवस्थाको अन्त्य गर्दै नबिल बैंकले पालिकाकाहरूको आर्थिक रूपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्तगर्नु भयो ।

नविल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरूलाई कर्जा स्वीकृतीपत्र समेत हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्