वृद्ध जोडीले गरे जिपलाइन

0
Shares

पर्वत ।

पर्वत सदरमुकाम कुस्मा बजारमा रहेको ‘सुपरम्यान’ शैलीको विश्वकै दोस्रो लामो दाबी गरिएको ‘हार्नेस जिपलाइन’ मा शुक्रबार मध्याह्न काठमाडौंको एक वृद्ध जोडीले जिपलाइनको मजा लिएको छ । ८० वर्षीय ईश्वरी प्रधान र ७५ वर्षीया मदनकुमारी प्रधानको दम्पतीले सो साहसिक खेलको खेलेका हुन् ।

पर्वतको जिपलाइनका बारेमा फेसबुकमा देखेका वृद्ध जोडीलाई त्यहाँको रमाइलोले कौतुहलता जगाएको हो । जिपलाइनकै लागि काठमाडौंबाट पर्वतको यात्रा तय गर्न नसकेर कुस्मा बजारमा रहेका आफन्तलाई भेट्नका लागि पर्वत आएको मौका पारी अवसरको सदुपयोग गरेको ईश्वरी बताउनुहुन्छ । आँखाले प्रत्यक्ष नियाल्ने र अनुभवसमेत लिन पाइने मौकालाई खेर जान नदिएको उहाँको कथन छ । जिपलाइनमा पुगेर अवलोकन गरेपछि आफूहरुमा पनि जिपलाइन गर्ने आँट आएको मदनकुमारीले सुनाउनुभयो ।

जिपलाइनमा रहेका प्राविधिकहरुले जिपलाइन गर्न बुबाले देखाएको आँटलाई पत्याएको भए पनि ७५ वर्षीया आमाले आँट गर्नुहुन्छ भन्ने सोचेकै थिएनन् । उमेरले पाको बनेका बेलामा कालीगण्डकी नदीको सतह र कहालीलाग्दो भीरबाट झन्डै १६ सय मिटरको लम्बाइमा जिपलाइन गर्नका लागि उस्तै साहसको पनि आवश्यकता पर्ने प्राविधिक बताउँछन् । बुढेसकालको जोडीले बुढेसकालमै भए पनि आफूमा त्यो आँट रहेको बताएपछि जिपलाइनका ‘क्रु मेम्बर’ पनि अचम्ममा परेका थिए ।

‘योभन्दा अगाडि पर्वतकै ७० वर्षीय कृष्णप्रसाद आचार्यले पनि जिपलाइनको अनुभव लिनुभएका कारण ८० वर्षीय बुबाले त सक्नुहुन्छ भन्ने नै लागेको थियो । तर, ७५ वर्षकी आमाले पनि आफूमा आँट आएको बताउँदा शुरुमा त हामीले पत्याउनै सकेनौं’, जिपलाइनका सञ्चालक राजकुमार बस्नेत भन्नुुहुन्छ– ‘आमालाई स्वास्थ्यमा समस्या आउला कि भन्नेमा पनि डर लाग्यो । तर, उहाँले ढुक्कका साथ आफूलाई तयार पारेपछि जिपलाइनको आनन्द लिनुभयो । साहसिक खेलको इतिहासमा नेपालका लागि यो विरलै होला भन्ने लाग्छ ।’

मौकाले पर्वत आएको बेलामा साहसिक खेलमा रमाउनकै लागि आफूहरु जिपलाइनमा पुगेको मदन कुमारीले बताउनुभयो । परीक्षण गरेर सबैले रमाइलो गरिरहेको ठाउँमा जिपलाइन गर्नका लागि आफूमा कुनै डर नभएको र जीवनमा एकपटक फरक खालको आनन्द लिनका लागि आँट गरेको उहाँको भनाइ छ । ‘उमेरले ७५ काटियो अब यस्तो मौका मिल्ला भन्ने पनि छैन, अब ज्यानले सक्ला भन्ने पनि लाग्दैन । सबैले आनन्द लिएको ठाउँमा मलाई पनि त्यस्तै गर्न मन लाग्यो’, उहाँ भन्नुहुन्छ– ‘फेसबुकमा तारमा झुण्डिएर मान्छे बगेको देख्दा मलाई नि रमाइलो लागेको थियो । आफन्तकोमा आएको मौका पारेर हामी नि आइयो ।’

सामान्यतः साहसिक खेलहरुमा पाका उमेरका व्यक्तिहरु रमाएको देखिँदैन, तर पर्वतको जिपलाइनमा भने अहिलेसम्म ७० वर्ष उमेर पार गरेका तीन जनाले जिपलाइनको साहस जुटाएका छन् । ज्येष्ठ नागरिकले समेत आँट गरेको देखेपछि ‘हार्नेस जिपलाइन’ ले साना बालबालिकाका लागि पनि ‘मिनी जिपलाइन’ निर्माणको काम गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक सुनील बानिया बताउनुहुन्छ । अहिले दैनिक ४० जनासम्मले जिपलाइन गरिरहेको बताउँदै उहाँले पर्यटकहरुको आकर्षण बढेका कारण संरचना निर्माण पनि थप लगानी हुँदै गएको उल्लेख गर्नुभयो ।