चैत तेस्रो साता हिमालयन हाइड्रो एक्स्पो हुने



काठमाडौं ।

आगामी चैत तेस्रो साता राजधानीमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युत्को बजारीकरण भन्ने नाराका साथ आगामी चैत १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो सञ्चालन हुन लागेको हो।

नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन कन्टझी पार्टनर रहने गरि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो आयोजना हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनु भयो। जलविद्युत्को बजार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्ने उहाँको भनाइ छ।

नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसँगै ऊर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीव्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यमा टेवा पुर्‍याउने लगायतका उद्देश्यसहित आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकले दाबी गरेका छन्।

हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेहरूलाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो।

३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १ सयभन्दा बढी स्टल रहने भएका छन्। जलविद्युत् प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैङ्क, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने भएको छ। जसमा झन्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकले दाबी गरेका छन्।

एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो  पावर रोबोथन(हाइड्रोकर्न २.०),ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्टझेसन विशेष आकर्षण बन्ने भएको छ।। विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइडझोकन २ दशमलव ० मा हाइड्रो पावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्सन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिस्पर्धा एक्स्पोमा समावेश गरिने भएको छ।

विद्युतीय सवारी साधनको र्याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारी साधनको बजारीकरण तथा सोको माध्यमबाट जलविद्युत्को आन्तरिक बजार बिस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने इपानका उपाध्यक्ष आशिष गर्गले बताउनुभयो। विद्युतीय सवारीका साथै विद्युतीय चुल्होको प्रयोगलाई विशेष जोड दिनुपर्ने बताउँदै उहाँले यसबाट जलविद्युत्को आन्तरिक बजार बिस्तारमा महत्पूर्ण योगदान पुग्ने बताउनुभयो।

यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकोप्टरमार्फत हाइड्रोपावर आयोजनाको भ्रमण गराउने व्यवस्थाका साथै भचुर्अल रियालिटी टुरको व्यवस्था गरिएको अर्को आयोजक संस्था एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताउनुभयो। विद्युत्को सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्‍याउने विश्वास प्रधानको छ।

साथै, एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिसन आकर्षणको रूपमा रहनेछ। हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रो पावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने भएको छ।

प्रतिक्रिया दिनुहोस्