रुस युक्रेन युद्धको नेपालमा प्रभाव



काठमाडौं ।

रसिया युक्रेनबीचको युद्धका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ। मूल्यवृद्धिको कारण नेपालको अर्थतन्त्रमा समेत असर पर्ने उद्योगी व्यवसायीहरुले बताउन थालेका छन्।

दुई देशको युद्धका कारण विश्व दुई ध्रुवमा विभाजित भएपछि संसारभर आर्थिक संकट देखापर्ने अर्थविज्ञहरुले बताएका छन्। नेपालले रसियाभन्दा पनि युक्रेनबाट सूर्यमुखी तेलको कच्चा पदार्थ आयात गर्ने गरेकाले अहिले युद्धका कारण आयात रोकिएको उद्योगीहरुले बताएका छन।

यसको असर नेपालीको भान्सा भान्सामा पर्ने सम्भावना बढेर गएको छ। नेपाल खाने तेलमा विदेशको भरमा रहदै आएको छ। नेपालको उत्पादनले केही महिना पनि नपुग्ने भएकाले नेपालले विदेशबाट कच्चा तेल आयात गर्ने गरेको छ।

अन्य देशबाट नेपाल आउने विभिन्न सामानसमेत अहिले रोकिएकाले नेपालमा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरुको समेत अभाव हुने देखिएको छ। रुस र युक्रेनबीचको संकट गहिरिँदै जाँदा बियर कम्पनीहरु चिन्तामा परेका छन। बियर कम्पनीहरुका लागि सबैभन्दा बढी बियर उत्पादन र बिक्री हुने गर्मीको सिजन शुरु हुनै लाग्दा भएको रुस युक्रेन द्वन्द्वले समस्या उब्जाएको छ।

बियर जौबाट बनाइन्छ र युक्रेन विश्वमा सबैभन्दा बढी जौ उत्पादन गर्ने शीर्ष पाँच देशको सूचीमा पर्ने गरेका छन। युक्रेनमा जारी युद्धका कारण विश्वभर जौको आपूर्ति प्रभावित हुन सक्ने विज्ञहरु बताउँछन्। यसले बियरको मूल्य बढाउने आंकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्