राजधानीमा पशु व्यवस्थापन



काठमाडौंका सडकमा गाईवस्तु उग्राएर बसेको देखिन्छ । विदेशी पर्यटकहरु यस्ता दृश्य देखेर अचम्म मान्छन् र घुमीघुफी फोटो खिचिरहेका हुन्छन् । गाई हिन्दुका लागि पूजनीय भएका कारण धार्मिक दृष्टिले यस्ता बस्तुहरुमाथि सामान्यतः हिंसा गरिन्न । तर, राजधानीलाई नै अव्यवस्थित बनाउने र दुर्घटना निम्त्याउने हदसम्मको लापर्बाहीलाई सामान्य भन्नसकिन्न ।

सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साढेंको व्यवस्थापन गर्दै आइरहेको दोंचा ख्यो खाली गर्न पशुपति क्षेत्र विकास कोषले उर्दी जारी गरेको खबर बाहिर आएको छ । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनको पालामा छाडा गाईगोरु व्यवस्थापन गर्ने उद्देश्यले सो जग्गामा गाईबाच्छा विकास समाजका प्रमुख आर.वि. न्यौपानेको अगुवाईमा कार्य हुदैआएको थियो । तर एक्कासी संस्कृति मन्त्री प्रेम आलेको भ्रमणलगतै कोषले सो गौशाला खाली गर्न परिपत्र गरेपछि गाई व्यवस्था स्वयमसेवीहरु अचम्ममा परेका छन् । गत वर्ष पनि एक हप्ताको समय दिएर कोषले दोंचाख्यो (साँडे छोड्न छुट्याएको चउर) खाली गर्न उर्दी जारी गरेको थियो तर यसविरुद्ध व्यवस्थापकहरु सर्वोच्च अदालत गए, अदालतले परम्परागत दोंचाख्यो स्थानान्तर नगर्न–नगराउन र कोषले स्ययं व्यवस्थापन गर्न भनिदियो । तर कोषले व्यवस्थापन गरेन । अन्ततः समाजले चन्दादाता गाईसेवकहरुको पहलमा सेवा पुर्याउँदै आइरहेको छ । काठमाडौं महानगरपालिका– ८, पशुपति क्षेत्रको १२ रोपनी क्षेत्रमा गाईबाच्छा र साढेंलाई राखिंदै आएको छ । व्यवस्थित गोठको अभावमा हिलो र वर्षात्को पानीका कारण त्यहाँ राखिएका एक सय ५३ वटा जनावर हिलोमा बस्न बाध्य छन् । सडकमा पुगेका गाईबाच्छालाई सवारी साधनले ठक्कर दिने, कुकुरले टोक्ने, लड्नेलगायत दुर्घटना हुँदा विजोग अवस्थामा देखेपछि तिनको उद्धारमा अभियन्ता आरबी न्यौपाने जुट्नुभएको करिब पन्ध्र वर्ष भएको छ । न्यौपानेकै पहलमा मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान– २०७१ मार्फत् बेवारिसे जनावरको आश्रयस्थलका लागि सो क्षेत्र पशुपति विकास कोषले उपलब्ध गराएको हो । औषधीय गुणयुक्त दूध, गहुँत, गोबर दिने गाईको संरक्षण, सुरक्षित बासस्थानको व्यवस्थापनमा सरकारको सहयोग हुनुपर्नेमा भएको क्षेत्र नै खाली गर्ने आदेश स्वाभाविक छैन । सडकबाट उद्धार गरेर ल्याइएका गाईवस्तुले सहयोगी, शुभचिन्तककै दानबाट हालसम्म खाना, पानी, औषधि उपचार पाएका छन् । सरकारले गोठ सुधारका कार्यक्रम सार्वजनिक गरेको भनिए तापनि त्यो सुविधा वा अनुदान लिने प्रक्रियामा लाग्दा–लाग्दा थाकेको तर सहयोग पाउन नसकेको उहाँको भनाइ मार्मिक छ ।

गाईलाई दूध आउन्जेल पाल्ने, अशक्त भएपछि सडकमा छोड्ने, बाच्छा, बाच्छीलाई जन्मेको केही दिनमै छाडा छोड्ने किसानलाई शक्त कारबाही नगरेसम्म छाडा गाईको समस्या रहिरहने देखिन्छ । अभियानले एउटा गाईका लागि दिनको २० रूपियाँ छुट्याएर वार्षिक सातहजार दुईसय रूपियाँ दिए किसानले घरमा राख्न नसकेका गाईलाई पाल्ने योजना अभियन्ताहरुको छ । यसरी गरिएको बेवारिसे गाईबाच्छा व्यवस्थापनलाई कोष तथा सरकारले सम्मान गर्नुपर्नेमा उल्टै धम्क्याउने–तर्साउने र हतोत्साहित गर्ने कार्य हुँदा पुनः सडकमा गाईबाच्छा बढ्ने सम्भावना बढेको छ । पशुपति कोष र सरकारले यस विषयमा तत्काल ठोस निर्णय लिनु आवश्यक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्