बढ्न थाल्यो पत्नीपीडितका उजुरी



पर्वत ।

पर्वतको कुस्मा नगरपालिका–१ पाङका ३६ वर्षीय सुवास क्षेत्री (नाम परिवर्तन) ७ बर्षअघि विवाह गरेर छोराको समेत जन्म भएपछि श्रीमतीकै अनुरोधमा पैसा कमाउनकै लागि साउदी अरब पुग्नुभयो ।

वैदेशिक रोजगारमा लागेपछि यता श्रीमती रमा क्षेत्री (नाम परिवर्तन) ले पनि छोरा सँगै सामान्य होटल व्यवसाय गरेपछि घर राम्र्रै चलेको थियो । फोनमार्फत सञ्चो–विसञ्चोको खबर आदान–प्रदान भइरहे पनि सुवास विदेशबाट घर फर्किनका लागि जब सबै व्यवस्थापन गरे त्यसको केही दिनमा नबित्दै श्रीमतीले झुण्डिएर आत्महत्या गरेको खबर सुन्न बाध्य हुनुप-यो ।अन्ततः घर फर्किएर कारण खोतल्दा परपुरुषसँगको सम्बन्धका कारण श्रीमतीले आत्महत्या गरेको पुष्टि भयो । केही समयपछि दोस्रो विवाह गरे, दोस्रो श्रीमतीले पनि विवाहको केही दिनमा नै गरगहनासहित छाडेर सम्पर्कविहीन भइन् । केही महिनाअघि मात्रै तेस्रो विवाह गरेर होटल व्यवसायमा लागेका सुवास फेरि तेस्री श्रीमतीबाट पनि पीडित भएपछि प्रहरीकोमा उजुरी गर्न बाध्य भएको बताउनुहुन्छ । श्रीमतीले सम्मानजनक व्यवहार नगरेको र मानसिक तनाव दिएको भन्दै प्रहरी गुहारेको उहाँको भनाइ छ ।

सुवास त एक उदाहरण मात्रै हुन् । पर्वतका न्यायिक तथा अर्धन्यायिक निकायमा दर्ता हुन आएका घरेलु हिंसाजन्य उजुरीमध्ये झण्डै ३० प्रतिशत उजुरी श्रीमतीबाट पीडित बनेका व्यक्ति रहेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय पर्वतको महिला बालबालिका सेवा केन्द्रमा गत सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्बरको अन्त्यसम्म दर्ता भएको झण्डै ६७ उजुरीमध्ये २५ पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि अनुरोध गरेका छन् । इलाका प्रहरी कार्यालय हुवासमा दर्ता भएका १२ उजुरीमध्ये ४ जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै उजुरी दिएका छन् । यता, जिल्ला अदालतको तथ्यांकमा पनि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न चाहनेको संख्या गत वर्षको भन्दा धेरै नै छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार श्रीमतीसँग मेलमिलाप हुन नसकेर पीडित भएको भन्दै प्रहरीमा धाउने पुरुषको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसरी आएका उजुरीमध्ये कतिपय वैदेशिक रोजगारीमा गएर फर्किएका पुरुष रहेका छन् । कतिपय घर व्यवहार विगारेर परपुरुषसँग सम्बन्ध बढाएको, छोराछोरी घरमा छाडेर अन्यत्र हिँड्ने र परिवारको बेवास्ता गर्ने गरेको लगायतको गुनासोसहितका उजुरी परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा यसरी दर्ता भएका उजुरीमध्ये गम्भीर प्रकृतिका उजुरीलाई अदालतमा जान सल्लाह दिएको र सामान्य झै–झगडाबाट मनमुटाव बढेका दम्पतीहरुलाई केन्द्रबाटै सल्लाह सुझावसहित लिखित कागजात गराएर मेलमिलाप गराई पठाउने गरेको केन्द्र इन्चार्ज प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले बताउनुभयो । महिलापीडित बनेर दिएका कतिपय उजुरीमा पनि तिनै उजुरकर्ता महिलाहरु बढी दोषी देखिएको पनि पाइने गरेको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्