राक्सिराङमा धुलिखेल अस्पतालको शाखा



हेटौंडा ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीसँग मंगलबार अस्पताल पुगेर यसबारे छलफल गर्नुभएको हो ।

अस्पतालले प्रदान गरिरहेका सेवा–सुविधाबारे जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको विकट गाउँमा स्वास्थ्य सेवाको आवश्यकताबारे अस्पताल पदाधिकारीसँग छलफल गर्नुभएको थियो । निकट भविष्यमा ४ बेडको शाखा अस्पताल सञ्चालन गर्नेबारे धुलिखेल अस्पतालका पदाधिकारी सहमत भएको राज्यमन्त्री प्रजाले बताउनुभयो ।

राज्यमन्त्री प्रजाको पहलमा धुलिखेल अस्पतालले यसअघि दुईपटक गर्लिङको क्षेत्रगत निरीक्षण गरिसकेको छ । राज्यमन्त्रीसँगको छलफल सकारात्मक भएको र निकट भविष्यमा गाउँलेको आवश्यकताका आधारमा स्वास्थ्य सेवा प्रदान गर्ने सोच बनाइएको धुलिखेल अस्पतालका पब्लिक हेल्थ अफिसर सुदीप श्रेष्ठले जानकारी दिनुभयो ।‘स्थानीयको आवश्यकता पहिचान गरिरहेका छौं । गाउँपालिकासँग पनि छलफल गर्ने तयारी गरेका छौं । जग्गा, भवन, उपकरणलगायत पूर्वाधार तयार गर्न स्थानीय तह र अन्य निकायसँग सहकार्य गरेर अघि बढिनेछ ।’ –उहाँले भन्नुभयो । गर्लिङमा अस्पताल निर्माण गर्ने शोचका साथ भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ लाख बजेटसमेत विनियोजन गर्नुभएको छ ।

धुलिखेल अस्पतालले नागरिकको स्वास्थ्य आवश्यकता पहिचान गर्नुका साथै अन्य अवस्थाबारे जानकारी लिन तत्कालका लागि फागुन मसान्तसम्म राक्सिराङमा स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरेको जनाएको छ । राज्यमन्त्रीसँगको छलफलमा अस्पताल निर्देशक रामकण्ठ माकाजु, संस्थापक डा. राजेन्द्र कोजु, अर्थोपेडिक सर्जन डा. दीपक श्रेष्ठ, क्लिनिकल डाइरेक्टर डा. बलराम मल्ल, सामुदायिक विभाग तथा पब्लिक हेल्थ डाइरेक्टर डा. विराजमान कर्माचार्यलगायतको उपस्थिति थियो । काभ्रेको धुलिखेल नगरपालिका–६ मा रहेको धुलिखेल अस्पतालले हालसम्म देशभर १८ शाखा विस्तार गरी स्वास्थ्य सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

आँखा केन्द्र मनहरीमा

मनहरी गाउँपालिकाको आर्थिक सहयोग र हेटांैडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग एवं योग्सी युनिभर्सिटी र चुङ्गमुङ्ग कोग कोरियाबाट उपकरण सहयोगमा सञ्चालित सामुदायिक आँखा केन्द्र मनहरी उद्घाटन भएको छ ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र नेपाल आँखा कार्यक्रम कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको सामूहिकरूपमा उद्घाटन गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखा र हेटांैडा सामुदायिक आँखा अस्पतालको समन्वयमा साप्तााहिकरूपमा सञ्चालित आँखा केन्द्रलाई गाउँपालिकाको समन्वयमा दैनिकरूपमा सञ्चालन गर्न लागिएको हो । मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले आँखा स्वास्थ्यको क्षेत्रमा विकास गर्न मनहरी गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणका लागि लागिपरेको र मकवानपुरमा पहिलोपटक आँखा स्वास्थ्य सेवा मनहरीबाट शुरु गरिएको बताउनुभयो । उक्त अवसरमा श्रेष्ठले आफ्ना बुबाको स्मृतिमा स्थापित संस्था पञ्चसिद्धि फाउन्डेसनमार्फत २५ विपन्न बिरामीलाई निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताउनुभयो । तिलगंगा आँखा कार्यक्रम प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, बाह्य कार्यक्रम प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, मनहरी प्राथमिक स्वास्थ्य केन्द्र अध्यक्ष ठाकुर तितुङलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्