बैंकको ज्यादतीविरुद्ध सडकमा उत्रिने व्यवसायीहरूको चेतावनी 



न्युज अफ नेपाल, ललितपुर। 

कोरोना महामारीबाट संकटमा परेका व्यवसायीलाई बैंकले दुःख दिएको भन्दै बैंकको ज्यादती विरुद्ध आफूहरू सडकमा उत्रिने उद्यमी व्यवसायीहरूले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघ, राजस्व समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव संकलन गर्न ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन् ।

संकटका बेलाको समय पारेर बैंकले उद्योगी व्यवसायीलाई जबरजस्ती ऋण तिर्न लगाउने, कालो सूचीमा राख्ने लगायत ज्यादती गरेको भन्दै त्यसका विरुद्ध सडकमा उत्रिन समेत आग्रह गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन समेत नमानेर उद्योग व्यवसायीलाई दुःख दिएको बताउनुभयो।बैंकले यसरी नै दुःख दिँदै आएकोले आन्दोलन गर्नुपर्ने समय आएको छ। यसका लागि कडा आन्दोलन गर्न तयार रहनुपर्दछ।’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

कोरोना महामारीका कारण कतिपय उद्योगी व्यवसायीहरु पलायन भएको तथा पलायन हुने अवस्थामा बैंकले नीति विपरीत ऋणीहरूलाई कालो सूचीमा राखेकोमा उपाध्यक्ष श्रेष्ठले आक्रोश पोख्नुभयो। ‘ एकतर्फी ढंगले कालो सूचीमा राखिएको छ । उहाँले भन्नुभयो ‘त्यसका साथै कोरोनापछि अलिअलि गर्दै बजार चलायमान हुने बित्तिकै फोन गरेर ऋणको किस्ता तिर्न दबाब दिँदै आएको छ ।

बैंकहरुले भने कोरोनाका कारण अति प्रभावित क्षेत्रमा परेका होटल रेष्टुरेन्ट, पर्यटन, यातायात, वैदेशिक रोजगार लगायतका क्षेत्रमा प्रवाह भएको कर्जा उठाउन पनि बैंकले त्यस्तै दबाब दिइरहेको व्यवसायीको गुनासो छ । सो अवसरमा अर्थविद् चन्द्रमणि अधिकारीले करको दर बढाउने भन्दा पनि उद्यमी व्यवसायीहरूको आवश्यकता पूर्ति र क्षमता बढाउने हिसाबले बजेट ल्याउनुपर्ने बताउँदै उद्यमी व्यवसायीहरूले आफूनो आफ्नो आवश्यकता, अपेक्षा सरकार समक्ष स्पष्ट रूपमा राख्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले बजेट निर्माणमा समयमै सरोकार देखाउनु राम्रो रहेको बताउँदै विगतको बजेटले ल्याएको नीतिको कार्यान्वयनको समीक्षा समेत गरी सरकार समक्ष तथ्य र तर्कमा आधारित रहेर आफ्नो माग तेर्स्याउन उद्यमी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले व्यवसायीहरूलाई काम गरेर खाने वातावरण मात्र बनाइदिनुपर्नेमा जोड दिँदै त्यसका लागि करको दर बढाउने भन्दा करको दायरा बढाउन माग गर्नुभयो । ‘बैंकका विधि र कार्यविधि अझ व्यवस्थित गरी व्यवसायीलाई उकास्न सहयोग हुनुपर्छ ।तर बैंकका गतिविधिहरू व्यवसायीहरूको मनोबल कमजोर बनाउने खालको छ ।’

अध्यक्ष न्याछ्योंले भन्नुभयो ‘ अप्रत्याशित राजनीतिक उथलपुथल, प्रणालीगत भ्रष्टाचारले अनेक समस्याहरू ल्याइरहेको छ । सरकारले व्यवसायीलाई निरुत्साहन गर्ने हैन, प्रोत्साहन गर्नुपर्छ।’

सो अवसरमा संघका ललितपुर महानगरपालिका राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापा, संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, महासचिव रुपकमान महर्जन र समितिका संयोजक पूर्ण महर्जन लगायतले  सरकारले बजेट कार्यान्वयनको महत्त्वपूर्ण सरोकारवालाको रूपमा रहेको निजी क्षेत्रको माग र चासोप्रति गम्भीर हुनुपर्नेमा जोड दिँदै आ आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्