हिउँमा राराको सुन्दरता मनमोहक बन्दै



मुगु ।

नेपालकै सुन्दर पर्यटकीय गन्तव्य रारा तालमा हिउँ परेपछि रूपरंगले सजिएकी अप्सराझैं झनै मनमोहक देखिएको छ । राराकिनारमा हिउँ खेल्दै रमाउने आन्तरिक पर्यटकको संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

गएको बुधबारदेखि लगातार २ दिनसम्म हिमपात भएको थियो । मौसम खुलेपछि पर्यटक बढेका हुन् । रारामा ३ फिटसम्म हिउँ जमेपछि राराको दृश्य अवलोकन गर्न र हिउँ खेलेर रमाउन पर्यटक बढेका हुन् । समुन्द्री सतहदेखि २ हजार मिटर उचाइमा रहेको रारामा हिउँसँगै रमाउनका लागि सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना र छिमेकी जिल्ला जुम्लाबाट आन्तरिक पर्यटक दैनिक ५०–६० जनाभन्दा बढी आउने गरेका छन् ।

‘हिमपातले रारा ताललाई चाँदीको कचौराजस्तो बनाएको छ । ताल वरिपरि रहेका धुपी, सल्लाका झाडीमा हिउँ जम्दा सेताम्मे कपास फुलेको जस्तो देखिन्छ’, आन्तरिक पर्यटक भाग्यराज भाम भन्नुहुन्छ–‘यसले राराको सुन्दरता झनै बढाएको छ ।’ विशेष गरी हिउँमा रमाउने आन्तरिक पर्यटकले फरक–फरक दृश्यमा फोटो खिच्ने, टिकटक बनाउँदै हिउँसँग रमाउने गरेका छन् । चाँदीको कार्पेट बिछ्याइएको रारामा कोइलीको गीतले झनै मनमोहक बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्