पर्वतमा बन्यो नेपालकै पहिलो स्काई क्याफे



पर्वत ।

कालीगण्डकीको गहिरो खोंच र डरलाग्दो पहरामा एकपछि अर्को सहासिक खेल तथा पर्यटकीय संरचनाहरू थपिने क्रममा नेपालकै पहिलो स्काई क्याफे पनि सञ्चालनमा आएको छ । कालीगण्डकी नदीको बाँदर लड्ने पहरोमा ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो ।

कालीगण्डकीमा निर्माण भएको विश्वकै अग्लो र लामो स्काई साइक्लिङसँगै सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो । कालीगण्डकी नदीको सतहबाट २ सय २८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको छ । ‘स्काई क्याफे’ सञ्चालनका लागि कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तारहरू राखिएको छ ।

‘स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगिएको छ । ‘क्याफे’मा बस्नका लागि फलाममा काठका फलेक जडान गरेर बेन्च र टेबल निर्माण गरिएको छ । त्यही टेबललाई घिर्नीको माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भीरमाथि तारमा ‘क्याफे’ बिस्तारै हिँडिरहेको हुन्छ । त्यहाँ बसिरहेका ग्राहकले यात्रा शुरू गर्ने वेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

‘बन्जीसहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ । हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ । स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो’, कार्की भन्नुहुन्छ– ‘तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ । कालीगण्डकी नदीको सातो जाने भीरमा गुडिरहेको क्याफेको आनन्द लिन आउने पर्यटकहरूको चाप बढी हुन्छ भन्ने लागेको छ ।’ अहिले सुरूआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा २९ जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ ।

‘स्काई क्याफे’ का लागि मात्रै झन्डै ९५ लाख लगानी गरेको बताउँदै उनले प्रतिव्यक्ति २५ सय रूपियाँ शुल्क राखिएको जानकारी दिनुभयो । ‘हामीले स्काई क्याफेको परीक्षणपछि व्यावसायिक रूपमा शुरू गरेको दुई दिन मात्रै भएको छ । यसको प्रचार–प्रसार भएको छैन । तैपनि दैनिक औसतमा २९ जनाले यसको मजा लिनुभएको छ’ सञ्चालक नेत्र पराजुलीले भन्नुभयो– ‘जसले स्काई क्याफेको मजा लिनुभएको छ, उहाँहरूले एडभेन्चर कफी र जुसलाई निकै तारिफ गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्