सहकारी बैंक दर्ता प्रक्रिया शुरू



काठमाडौं (नेस) ।

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरलगायत उच्च अधिकारीसमक्ष प्रस्तुतीकरण गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उहाँले राष्ट्र बैंकले तोकेअनुसारको सबै प्रक्रिया पूरा गरी प्रस्ताव तयार गरेको बताउनुभयो । प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैंकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैंक दर्ता प्रक्रिया शुरू गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रस्तावित बैंकका प्रमुख सल्लाहकार तथा कांग्रेस नेता आनन्द ढुंगानाले प्रस्तावित बैंक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रक्रिया अबिलम्ब अघि बढाउन आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गर्भनर लामिछानेले चाँडै नै प्रक्रिया अघि बढाइने आश्वासन दिनुभयो ।

प्रस्तावित बैंकले यसअघि गएको पुस २२ गते सहकारी विभागका रजिस्ट्रार, उप रजिस्ट्रारलगायतका अधिकारीलाई प्रस्तावित बैंकको अवधारणापत्र प्रस्तुत गरेको थियो । बैंक तदर्थ समितिका अध्यक्ष भण्डारीले अनुमतिपत्र पाएलगत्तै बैंक सञ्चालनमा आउने बताउनुयो ।

साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापी रूपमा विस्तार गरिने उहाँको भनाइ थियो । सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा संघको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई संस्था वा संघ आपसमा मिली नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैंकहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।

सहकारी नियमावली २०७५ को नियम ५ ले सहकारी बैंकको गठनमा सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तीमा ५ सय १ संस्था वा संघहरू हुनुपर्ने, सहकारी बैंकको सेयर पुँजी नेपाल राष्ट्र बैंकले तोकिदिएबमोजिम हुने, आवेदन दिने संस्था वा संघहरूको संयुक्त सेयर पुँजी कम्तीमा तीन अर्ब रूपियाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तीमा पचास करोड रूपियाँ हुनुपर्ने, आवेदक संस्था वा संघ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने र सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था भएअनुसार सबै प्रक्रिया पूरा गरी सहकारी महासंघ, विभाग र नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रक्रिया अघि बढेको प्रस्तावित बैंकको भनाइ छ ।

प्रस्तुतीकरण कार्यक्रममा तदर्थ सञ्चालक समितिका सञ्चालक सीताराम काफ्ले, डा. ज्ञानेन्द्रप्रसाद पौडेल, माधव दुलाल, पुष्पबहादुर पौडेल र चार्टर्ड एकाउन्टेन अनिल पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्