‘हिउँफूल’सँग फोटो खिचाउनेको घुइँचो



हेटौंडा ।

हिउँ खेल्न गएका एक युवाको चिसोका कारण ज्यान गए पनि उत्तरी मकवानपुरको दामन–सीमभञ्ज्याङ क्षेत्रमा हिउँ पारखीको लस्कर घट्न सकेको छैन । उक्त क्षेत्रका रुख र बुट्यानमा फूलझैं देखिने ‘हिउँफूल’ सँग फोटो खिचाउनेको घुइँचो लागेको छ ।

हिउँका कारण अवरुद्ध सडकको पर्वाह नगरी निकै वरै सवारीसाधन राखेर हिउँका पारखी दामनको सीमभञ्ज्याङ पुगेका छन् । जमेको हिउँमा चिप्लेटी खेल्ने र छ्यापाछ्याप गरेर आन्तरिक तथा बाह्य पर्यटकले मनोरञ्जन लिइरहेका छन् । यसपालि पटक–पटक परेको हिउँले थाहा नगरमा भित्रिने पर्यटकको संख्या वृद्धि भएको छ । स्थानीयका अनुसार उक्त क्षेत्रमा करिब २५ वर्षयताकै बाक्लो हिउँ परेको हो ।

मकवानपुरको उत्तरी क्षेत्रमा हिउँ खेल्ने क्रममा मृत्यु भएको भनिएका एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार शव इन्द्रसरोवर गाउँपालिकाको देउरालीडाँडामा फेला परेको हो ।

शव ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टीकाथलीका ३४ वर्षीय प्रज्ज्वल पोखरेलको रहेको दासले बताउनुभयो । उहाँले पोखरेलको शव हिउँमा फेला परेको बताउनुभयो । घटनाको आवश्यक अनुसन्धान भइरहेको दासको कथन छ । अविरल वर्षासँगै बढेको हिमपातले अधिक चिसो ९हाइपोथरमिया० का कारण युवकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरी निरीक्षक दासका अनुसार मृतक पोखरेल चार्टर्ड एकाउन्टेन्ट हुन् । प्रहरीले उनको मृत्युको कारणबारे थप जानकारी दिएको छैन ।

त्यस्तै, हिमपातका कारण अवरुद्ध बनेको त्रिभुवन राजपथ आइतबार बिहानबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सीमभञ्ज्याङ र अघोर क्षेत्रमा भारी हिमपात भएपछि शुक्रबार बिहानबाट राजमार्ग अवरुद्ध बनेको थियो । सडकमा डेढ फिटसम्म जम्ने गरी हिउँ परेपछि सवारी दुर्घटनाको जोखिम बढेको भन्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

शुक्रबार र शनिबार थाहा नगरपालिकाले सडकमा जमेको हिउँ हटाएपछि यातायात सञ्चालनमा सहजता भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उक्त क्षेत्रमा मौसममा केही सुधार भएकाले प्रहरीको भनाइ छ । सडक सुचारु भएसँगै काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारीसाधन सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्