खप्तड घुम्न ‘हेली प्याकेज’ को व्यवस्था



डोटी (नेस) ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीय स्थलहरू खप्तड तथा बडीमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडीमालिका घुम्नका लागि पर्यटकहरू आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

कम्तीमा पनि दश दिनका लागि उक्त ‘हेली प्याकेज’को सुरुआत हुने खप्तड घरबास झिग्रानाका सञ्चालक तथा उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दिपायलबाट खप्तडका लागि प्रतिव्यक्ति १२ हजार तथा बडीमालिका पुग्न ३० हजार लाग्ने छ ।

खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बाक्लो हिउँ भएकाले उक्त क्षेत्रको अवलोकनका पर्यटकहरूको मागबमोजिम ‘हेली प्याकेज’ को व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष पनि यहाँ ‘हेली प्याकेज’ को आयोजना गरिएको थियो । हेलिकप्टरमार्फत गत वर्ष १३५ जनाले खप्तडको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्