सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई पुनः पत्राचार



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म पनि रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई हप्ता दिनभित्रमा रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै होटल याक एन्ड यति लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेज (र्याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेसनल प्रालि काठमाडौं, ह्याप्पी आवर प्रालि काठमाडौं तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौंले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नु पर्ने बाँकी बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो । रोयल्टी तिर्न अटेरी गर्नेलाई कारबाही गरिने मन्त्रालयको पत्रचारमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्मको बक्यौता होटल याक एन्ड यति लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख, रक इन्टरनेसनल प्रालि काठमाडौंले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौंले २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौंले १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।

गत कार्तिक सात गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद जारी तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सात दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले क्यासिनोहरूले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो ।यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।

काठमाडौंको सांग्रिला र रूपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपियाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ । क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित १४ करोड २० रूपियाँ नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाउनेलाई कारबाही हुने चेतावनी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्