राजश्व चुहावट रोक्न मन्त्री शर्माको आग्रह



काठमाडौं (नेस) ।

अर्थमन्त्री जनार्दन शर्माले राजश्व राष्ट्रको रगत पसिना रहेको बताउँदै त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको छ । केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो । उहाँले राजश्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो । ‘राजश्व भनेको राष्ट्रको रगत पसिना हो । यो बगेर गइरहेको छ’, उहाँले भन्नुभयो–‘यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं ।’

राजश्व चुहावट नियन्त्रण गर्न ‘अपरेसन’ आवश्यक रहेको बताउँदै यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । अपरेसनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने पनि उहाँले जानकारी जगाउनुभयो । नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उहाँको भनाइ थियो ।

हाल संसद्बाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्रीस्तरीय वा मन्त्रिपरिषद्बाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने बताउनुभयो । मन्त्री शर्माले कतिपय राजश्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको औंल्याउँदै सचेतनामूलक सन्देश फैलाउन पनि आवश्यक रहेको बताउनुभयो । सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय, आम जनतालगायत सरोकारवाला सबै मिलेर राजश्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो ।

नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजश्व चुहावटमा कमी ल्याउन सकिने मन्त्री शर्माको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्