६ महिनामा पुँजीगत खर्च १२ प्रतिशत



बुटवल ।

लुम्बिनी प्रदेशमा पाँच दलको गठबन्धन बने पनि प्रदेश सरकारको बजेट खर्चको अवस्था भने निराशाजनक देखिएको छ । पूर्ववर्ती सरकारको भन्दा पनि यस वर्ष सरकारको बजेट खर्चको अनुपात झन् कम हुन पुगेको हो ।

गत वर्षको सोही अवधिको पुँजीगत खर्चको तुलनामा यो वर्ष खर्च दर करिब ५ प्रतिशत कम भएको छ । तर, प्रदेश सरकारले अब भने बजेट खर्चले गति लिने दाबी गरेको छ । प्रदेश सरकारले चालु वर्षका लागि कुल ४० अर्ब ९५ करोड ९७ लाख बजेट रहेकोमा चालु आर्थिक वर्षको ६ महिना सकिँदा विकास बजेटको खर्च दर जम्मा १२ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्ष २०७८/२०७९ को ६ महिनामा लुम्बिनी प्रदेश सरकारले कुल बजेटतर्फ जम्मा १५ दशमलव ४६ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

पुँजीगततर्फको २२ अर्ब ४७ करोड १५ लाख बजेटमध्ये चालु वर्षका ६ महिनामा २ अर्ब ८४ करोड ९३ लाख अर्थात् १२ दशमलव ६८ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले, बताउनुभयो । त्यसमध्ये पुस मसान्तसम्म ६ अर्ब ३३ करोड ११ लाख रुपियाँ बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलले जनाएको छ । चालुतर्फको १८ अर्ब ४८ करोड ८१ लाख बजेटमध्ये पुस मसान्तसम्म ३ अर्ब ४८ करोड १७ लाख अर्थात् १८ दशमलव ८३ प्रतिशत खर्च भएको छ ।

वर्षमा दुई/दुईपटक बजेट ल्याउने परिस्थिति सिर्जना हुँदा पनि समयमै बजेट कार्यान्वयनमा जान नपाएकाले खर्च दर कम देखिएको लेखा नियन्त्रण ज्ञवालीले बताउनुभयो । प्रदेश सरकारले विगतको सरकारले ल्याएको बजेट कार्यान्वयन नगर्ने भन्ने मान्यताले केही महिना अलमल भएको र त्यसपछि आफूहरूले ल्याएको बजेट कार्यान्वयन गर्दा ढिलाइ भएको सरकारका प्रवक्ता तथा आन्तरिक एवम् सञ्चारमन्त्री तिलकराम शर्माले बताउनुभयो ।

प्रदेशमा गठबन्धन सरकार बनेसँगै मन्त्रालय टुक्र्याएर १२ पुर्याइएको छ । तर, कुनै पनि मन्त्रालयको बजेट खर्चदर सन्तोषजनक नहुुनुले सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्