भारतको प्रतिष्ठित ब्रान्ड ‘जेके’ को ओटीआर टायर नेपालमा



काठमाडौं (नेस) ।

भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले उक्त टायर उपलब्ध गराएको छ ।

एक कार्यक्रमका बीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गर्नुभयो । सो अवसरमा उहाँले भन्नुभयो– नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इक्विपमेन्ट उपलब्ध भएका र त्यस्ता उपकरणका लागि उपयुक्त गुणस्तरका टायर आवश्यक छ ।

जेके टायरद्वारा उत्पादित ती टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्स्चर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रकजस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ । ग्राहकको मागअनुसार सबै मोडलका टायर उपलब्ध गराइने डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाँले बताउनुभयो । देशभर उपलब्ध डिलर नेटवर्कमार्फत बिक्री र बिक्रीपछिको सेवासमेत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिद्वारा उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायरदेखि भारतको सबैभन्दा ठूलो ४० दशमलव–५७ साइज, करिब ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायरसमेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ । उक्त अफ द रोड टायर ‘भीईएम ०४५’ सन् २०१९ को लिम्का बुक अफ रेकर्ड्समा समेत दर्ता भएको थियो ।

जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिक रूपमा ३ करोड ५० लाख युनिटभन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिस्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ ।
जेके टायरले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पुरस्कारसमेत पाइसकेको छ । विशेष गरी मोटर स्पोर्ट्स प्रवर्धन गर्नमा जेके टायरले महत्वपूर्ण भूमिका खेलेको छ ।

क्याटरपिलर, बीईएमएल, जेसीबी, लिब्वाई, एजक्स फियोरी, एल एन्ड टी कन्स्ट्रक्सन, एस्कर्ट्स, एक्सन कन्स्ट्रक्सन इक्विपमेन्ट र अन्य धेरै निर्माण उपकरण निर्माताहरूको लागि जेके टायर एक विश्वसनीय आपूर्तिकर्ता पनि हो । यसै सन्दर्भमा हालै कम्पनीले कुनै पनि दुई टिपर टायर खरिद गर्दा एक थान आकर्षक इलेक्ट्रिक जग पाइने अफरसमेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्