लिस्नेभीर बन्यो सेल्फीडाँडा



पाल्पा ।

केही वर्ष पहिलेसम्म स्थानीयले घाँस–दाउरा काट्न, मृतकलाई रिडी लैजाने मार्गका रूपमा मात्रै प्रयोग गर्ने गरेको भिरालो जमिनले भरिएको रिब्दीकोट गाउँपालिका–१ अन्तर्गत पर्ने लिस्नेभीर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पहाडको टुप्पो अर्थात् डाँडामा आवत–जावत गर्नका लागि लिस्नो प्रयोग गरी निकै जोखिमपूर्ण तरिकाले आवत–जावत गरिने सो स्थान अहिले सेल्फी लिने ठाउँका रूपमा मात्र होइन वनभोज र घुमघामका लागि परिचित बन्न थालेको हो ।

पहिले लिस्नोको सहायताले आवत–जावत गर्नुपर्ने स्थानमा अहिले लिस्नोलाई हटाई पर्खाल निर्माण गरिनुको साथै रेलिङसमेत लगाइएको छ । उक्त डाँडाबाट पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडी, अर्गली, सोही स्थानमा अवस्थित श्री ३ जुद्ध शमशेरले निर्माण गरेको अर्गली दरबार, गुल्मीको विभिन्न स्थानको मनोरम हिमशृंखलालाई स्पष्टसँग अवलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यलाई क्यामरा र नांगो आँखाले रसास्वादन गर्न र विभिन्न दृश्यलाई क्यामरामा कैद तथा अवलोकन गर्न पाउनु नै डाँडाको मुख्य विशेषता हो ।

वरिपरि ठूलो भीर, बीचमा हिमालको जस्तै आकार भएको पहाड, जुन पहाडबाट देखिने मनमोहक दृश्यलाई कैद गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेको रिव्दीकोट गाउँपालिका–१ का वडाध्यक्ष विष्णु गैरेले बताउनुभयो । पछिल्लो समयमा सेल्फी डाँडामा रम्न अनि रमाउन दैनिक सयभन्दा बढीको हाराहारीमा पर्यटक आउने गरेको उहाँको लकथन छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट पश्चिममा पर्ने यो स्थानमा यातायातको साधन प्रयोग गरी करिब १ घण्टाको समयमा पुग्न सकिने भएकाले सेल्फीडाँडा पछिल्लो समयमा पर्यटकको रोजाइ बन्दै गएको हो । पहिलेदेखि नै मानिसहरू उक्त डाँडामा रहेको लिस्नोको प्रयोग गरी अर्गेली बजार, गुल्मीसम्म जाने–आउने गर्ने गरेको स्थानीय बासिन्दा एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुहुन्छ ।

स्थानीयका अनुसार मानिसले भीरमा रहेको लिस्नोको प्रयोग गरी आवत–जावत गर्ने भएकाले उक्त भीरको नाम लिस्नेभीर रहेको हो । लिस्नोको प्रयोग गरी जोखिमपूर्ण तरिकाले आवत–जावत गर्दा कतिको मृत्युसमेत भएको र पछि उक्त लिस्नोलाई हटाई पर्खाल लगाएर तारबार गरी सेल्फीडाँडा नामकरण गरिएको स्थानीय रामजी भट्राईको भनाइ छ ।

अर्का स्थानीय रामप्रसाद न्यौपानेका अनुसार सेल्फीडाँडाबाट पाल्पाका लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै भागको अवलोकन गर्न सकिने भएकाले पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । उहाँका अनुसार यहाँ आउने पर्यटकले लिस्नेभीरका साथसाथै नजिकैको छत्रदेव मन्दिरको अवलोकन गर्न स्थानीय लोक–संस्कृति नियाल्नुका साथै वनभोजसमेत गर्न सक्छन् । यो क्षेत्रको विकासका लागि यहाँबाट अर्गलीदेखि डाँडासम्म केवलकारसमेत चलाउन सकिने सम्भावना रहेको देखिन्छ ।

पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले सेल्फीडाँडा पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले उक्त स्थानलाई पर्यटकमैत्री बनाई पर्यटकको आगमनमा वृद्धि गर्नुपर्ने बताउनुभयो । रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीका अनुसार सेल्फीडाँडा आफैंमा प्राकृतिकरूपमा निर्माण भएको सुन्दर स्थान रहेकाले गाउँपालिकाले पछिल्लो समयमा सेल्फीडाँडालाई विकासका पूर्वाधारले जोड्ने कार्य अगाडि बढाएको बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले उक्त डाँडासम्म पुग्नका लागि सडक विस्तार, रेलिङ लगाउने, आराम गर्नका लागि बस्ने स्थानको व्यवस्था गरेको बताउनुभयो । पर्यटकीय सम्भावनालाई मध्यनजर गर्र्दै र अस्थायी प्रकृतिका होटलहरू सञ्चालन गरी पर्यटकलाई सेल्फीडाँडामा सुविधा पुर्याउने योजनाका साथ गाउँपालिका अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्