डडेल्धुराका स्थानीय तहले ७० करोड खर्च गरे



डडेल्धुरा ।

डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म करिब ७० करोड बजेट खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराले सातवटै स्थानीय तहमा संघीय सरकारको एक अर्ब १७ करोड नौ लाख ५४ हजार पाँच सय ८३ रुपैयाँ बजेट निकासा गरेको छ । डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकाले १० करोड २१ लाख ७६ हजार सात सय छ रुपियाँ बजेट खर्च गरेको छ ।

अमरगढी नगरपालिकाको दोस्रो त्रैमासिक अवधिसम्मको कुल आम्दानी १७ करोड ४४ लाख ६५ हजार आठ सय ५३ रुपियाँ छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराबाट अमरगढी नगरपालिकालाई २३ करोड ८४ लाख ६९ हजार पाँच सय ७५ रुपियाँ निकासा गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख कोष तथा लेखा नियन्त्रक चन्द्रदेव जोशीले बताउनुभयो ।

दोस्रो त्रैमासिक अवधिसम्म परशुराम नगरपालिकाको खर्च २० करोड ३५ लाख नौ हजार नौ सय ३७ रुपियाँ छ भने आम्दानी २६ करोड २८ लाख ३७ हजार पाँच सय ५१ रुपियाँ छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराबाट परशुराम नगरपालिकालाई १९ करोड ३६ लाख ८० हजार आठ सय २५ रुपियाँ निकासा गरिएको छ ।

आलिताल गाउँपालिकाको खर्च १० करोड ४२ लाख ३० हजार नौ सय ५२ रुपियाँ र आम्दानी १७ करोड ४२ लाख ८८ हजार छ सय ६५ रुपैयाँ छ भने कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराबाट १९ करोड ४५ लाख ४९ हजार दुई सय ९८ रुपियाँ निकासा गरिएको छ ।

भागेश्वर गाउँपालिकाको खर्च आठ करोड ८४ लाख ४४ हजार आठ सय ८७ रुपियाँ, आम्दानी १६ करोड ६१ लाख ६५ हजार दुई सय २१ रुपियाँ र निकासा २० करोड ३२ लाख सात हजार तीन सय ८६ रुपियाँ छ । नवदुर्गा गाउँपालिकाको खर्च १२ करोड ५९ लाख ५१ हजार छ रुपियाँ, आम्दानी २४ करोड १८ लाख ३४ हजार छ सय दुई रुपियाँ र ेनिकासा २० करोड ४८ लाख ९५ हजार सात सय ८४ रुपियाँ छ ।

अजयमेरु गाउँपालिकाको खर्च १३ करोड ७९ लाख ८२ हजार नौ सय ४७ रुपियाँ, आमदानी १८ करोड १५ लाख ७५ हजार चार सय ८८ रुपियाँ र निकासा १४ करोड २४ लाख ८४ हजार सात सय ९० रुपियाँ छ । गन्यापधुरा गाउँपालिकाले खर्च ११ करोड ९९ लाख ९२ हजार चार सय ५० रुपियाँ, आम्दानी २० करोड ४८ लाख पाँच हजार पाँच सय ९९ रुपियाँ र १७ करोड ६५ लाख ४६ हजार नौ सय २५ रुपियाँ निकासा भएको स्थानीय तहको सूत्र प्रणालीबाट बजेट खर्च अनुगमनमा देखिएको प्रमुख कोष नियन्त्रक जोशीले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रत्येक स्थानीय तहले त्रैमासिक रूपमा वित्तीय खर्चको सम्पूर्ण विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पेस गर्नुपर्ने हुन्छ । परशुराम नगरपालिका र अजयमेरु गाउँपालिकाले बुधबारसम्म पनि दोस्रो त्रैमासिक अवधिको खर्च विवरण पेस नगरेकाले विवरण पेस गर्न ताकेता गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराले जनाएको छ ।

स्थानीय तहले त्रैमासिक अवधिको खर्चको विवरण पेस गरेपछि मात्रै बजेट निकासा गरिने प्रावधान छ । संघीय र प्रदेश सरकारको अनुदान कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्