धौलागिरि लघुवित्त वित्तीय संस्थाले सेयर निस्कासन गर्ने



काठमाडौ (नेस) ।

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निस्कासन गर्ने भएको छ । प्रधान कार्यालय बागलुङमा रहेको सो संस्थाले ३ लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ । सेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता गरको छ ।

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजतपत्र प्राप्त गरी मिति २०७५ सालदेखि वित्तीय कारोबार गर्दै आइरहेको सो संस्थाले गत पुस मसान्तसम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ ।
हाल चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्काशन भएपछि १० करोड चुक्ता पुँजी कायम हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्