युनिमोनी र ई–सेवाबीच रेमिट्यान्स् सेवा शुरू



काठमाडौं (नेस) ।

ई–सेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज युनिमोनीबिच रेमिट्यान्स् सम्झौता भएको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीले युनिमोनीको कतारमा रहेका ९ वटा शाखामा गइ ई–सेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन् ।

युनिमोनीका शाखाबाट पैसा सीधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा ईवालेटमा तत्काल रकम पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभर रहेका ई–सेवा मनी ट्रान्सफरका दश हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ । साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ बोनससमेत प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबारे ई–सेवा मनी ट्रान्सफरका सिइओ, अजेस कोइरालाले भन्नुभयो–‘ई–सेवा मनी ट्रान्सफर र युनिमोनीबिचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ ।’

युनिमोनी कतार, कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरूका वित्तीय आवश्यकता मध्यनजर गर्दै सहज रूपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को देश आवागमन गराउँदै आएको छ । त्यसका लागि यसले आफ्ना सेवा संसारका विभिन्न मुलुकमा रिटेल स्टोरदेखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ ।

ई–सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई–सेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । ई–सेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई–सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया दिनुहोस्