र्ई–सेवा १४ औं वर्षमा प्रवेश, खाता खोल्नेको संख्या ५० लाख



काठमाडौं (नेस) ।

अग्रणी भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ १४ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरू गरेको ई–सेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

१३ वर्षको अवधिमा ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब १ लाख ३० हजार एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म ई–सेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । ई–सेवामा हाल मर्चेन्टको संख्या २ लाख बढी रहेका छन् ।

१३ औं वार्षिक उत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो– ‘१४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामी हाम्रा समस्त ग्राहक, एजेन्ट, मर्चेन्ट, सहयात्री बैंक तथा वित्तीय संस्था, नियामक निकाय र सम्पूर्ण सरोकारवाला निकायमा आभार प्रकट गर्दछौं ।’

कोभिड १९ महामारीको अहिलेको समयमा धेरैभन्दा धेरै डिजिटल भुक्तानी सेवा प्रदान गरी आम नेपालीको दैनिक जनजीवन सहज बनाउने हाम्रो अभियान अझ बढी सशक्त रूपमा अगाडि बढाउन प्रतिबद्ध छौँ’ – उहाँले भन्नुभयो ।

ई–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ । १३ वर्षे यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले ई–सेवालाई सम्झने अवस्थामा ल्याईपुर्याएको छ । आगामी दिनमा ई–सेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरी प्रत्येक नेपाली नागरिकलाई नवीनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ ।

ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्