च्याउखेतीबाट आत्मनिर्भर बन्दै कार्की



जाजरकोट ।

जाजरकोटको भेरी नगरपालिका–४ मा व्यावसायिक च्याउ खेती सञ्चालन गर्दै आउनुभएको छ एकल महिला योगमाया कार्कीले । उहाँले थोरै लगानीबाट प्रशस्त आयआर्जन हुने देखेपछि गत वर्षबाट च्याउ उत्पादन गर्दै आउनुभएको हो ।

कार्कीले करिब ३० हजार निजी लगानीमा आवश्यक सामग्री संकलन गरी च्याउका २ सय ५० डल्ला उत्पादन गर्दै आउनुभएको छ । यसअघि सदरमुकाम खलंगामा घरबाहेकका अन्नबाली उत्पादन गर्ने जग्गाजमिन नहुँदा व्यावसायिक कुखुरा पालन गर्दै आएको उहाँ बताउनुहुन्छ । आफ्नै घरको दुईवटा कोठामा १५ हजार लगानी गरी प्लास्टिक टनेल निर्माण गरेर व्यवसाय च्याउ उत्पादन शुरू गरेको कार्की सम्झनुहुन्छ । खलंगा बजारमा बिहान आफैंले लगेर प्रतिकिलो १ सय ८० रुपियाँका दरले उहाँले च्याउ बिक्री गर्दै आउनुभएको छ । सबै डल्लाले च्याउ उत्पादन गर्न थालेकाले यस सिजन १ लाख वचत गर्ने लक्ष्य लिएको कार्कीको कथन छ ।

‘एकल महिलाले गर्न सक्ने सजिलो पेसा कुखुरा पालन र च्याउखेती भएकाले दुवै पेसा अपनाएकी हुँ’, उहाँ भन्नुहुन्छ– ‘कुखुरालाई नियमित दानापानी दिनुपर्ने, हेरचाह गर्नुपर्ने हुन्छ । बिहान च्याउ बजारमा लगेर बेच्छु अनि अरू कार्य गर्ने गरेको छु ।’ स्थानीयस्तरकै ताजा उत्पादन भएकाले बजारमा सजिलै च्याउ बिक्री हुने गरेको उहाँको भनाइ छ ।

आयआर्जन बढेकाले यसप्रति उहाँको अकर्षण थप बढेको छ । व्यवसायी बन्नुअघि कार्कीलाई बिहान–बेलुका छाक टार्न नै धौ–धौ हुने गरेको थियो । खलंगा साना किसान कृषि सहकारी संस्थाको अध्यक्षको जिम्मेवारीसमेत बहन गरेकी योगमायाले यस पेसाले आत्मबलसमेत बढाएको बतानुभयो ।

प्रतिक्रिया दिनुहोस्