कोभिडको मारमा साहसिक पर्यटनका गन्तव्य, व्यवसायी निराश



पर्वत ।

कोभिड १९ को तेस्रो भेरियन्टको संक्रमण बढेसँगै मुलुकमै साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतको पर्यटन क्षेत्र प्रभावित बनेको छ ।करोडौंको लगानीमा निर्माण भएका सहासिक खेलसहितका संरचनाहरू अहिले कोरोनाको संक्रमण बढेसँगै सुनसानजस्तै बनेका छन् । पर्वतमा करिब १ वर्षअघि निर्माण सम्पन्न भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प र विश्वकै अग्लो स्विङसँगै हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन प्रभावित बनेका छन् ।

पछिल्लो समय पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको व्यापार प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संरचनाहरू कोरोनाको मारमा परेपछि अहिले पर्यटन व्यवसायमा थप समस्या उब्जिएको छ । द क्लिफ प्रालिद्वारा सञ्चालित बञ्जीजम्प करिब ५ वर्षको अवधिमा २८ करोड बढी लगानीमा निर्माण भएको थियो । निर्माणसँगै करिब १ वर्ष सहज रूपमा सञ्चालन भए पनि बेलाबखत कोरोनाको मार खेप्न बाध्य भएको सञ्चालक राजु कार्कीले बताउनुभयो । अहिले स्काइ साइक्लिङसमेत सञ्चालनमा ल्याएको प्रालिका सबै गतिविधि प्रभावित बनेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञा जारी गरेसँगै पर्यटन व्यवसाय ठप्पजस्तै बनेको हो ।

‘केही दिन अघिसम्म दैनिक १ सय जनाभन्दा बढीले साहसिक खेलमा भाग लिनुहुन्थ्यो, झण्डै ५ सय जना दैनिक ओहोरदोहोर गर्नुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘कोभिडको संक्रमण बढेसँगै अहिले ह्वात्तै घट्यो, यस्तो बेला सहज रूपमा सञ्चालन गर्ने कुरा पनि भएन ।’ त्यस्तै, हालमात्रै सञ्चालनमा आएको हार्नेस जीपलाइन प्रालिद्वारा सञ्चालित जिपलाइन पनि कोरोनाको चपेटामा परेको छ । अंग्रेजी नयाँ वर्षको आगमनसँगै सञ्चालन शुरू गरिएको जीपलाइन सञ्चालन भएको केही दिनमा नै बन्द अवस्थामा पुगेको छ । निर्माण समयदेखि सञ्चालनको अवधिसम्म कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको सञ्चालनक रञ्जित जोशीले बताउनुभयो ।

झण्डै १५ करोडको लगानीमा बनेको यो जिपलाइन र बञ्जी सहज रूपमा सञ्चालनमा नआएपछि पर्वतको कुश्मा बजार क्षेत्रको चहलपहल पनि शून्यजस्तै बनेको छ भने होटल व्यवसाय पनि प्रभावित बनेका छन् । कुश्मामा १० वर्ष अघिदेखि सञ्चालनमा आएको कुश्मा बलेवा यान्त्रिक पुलसँगै छिमेकी जिल्ला जोड्ने गरी बनेका अग्ला र लामा झोलुङ्गे पुलहरूमा समेत आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप घटेको छ । यता पर्वतका गाउँ गाउँमा सञ्चालित होमस्टेहरूसमेत कोरोनाका कारण प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्