आँधीखोला लघुवित्तको अध्यक्षमा पुनः नरेश केसी



स्याङ्जा (नेस) ।

स्याङ्जा जिल्लामा स्थापना भई देशका ११ जिल्लामा वित्तीय कारोबार गर्दै आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा पुन नरेश केसी चयन हुनुभएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पाँचौं साधरण सभाले केसीलाई पुनः सर्वसहमतिबाट अध्यक्षमा चयन गरिएको हो ।

स्याङ्जाको वालिङमा सम्पन्न भएको साधरणसभाले संस्थापकबाट सञ्चालक सदस्यहरूमा श्यामविक्रम खाँण र सावित्रा दवाडी पौडेल चयन हुनुभएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष नरेश केसीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका कम्पनी सचिव बाबुराम कुँवरले जानकारी दिनुभयो ।
सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलत, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरिएको कुँवरले बताउनुभयो ।

साथै ,सभाले राष्ट्र वैंकको स्वीकृतबमोजिम २० प्रतिशत बोनस सेयर स्वीकृत गरेको छ । हाल ११ जिल्लामा १९ कार्यालयमार्फत २ प्रदेशमा कार्यक्रम सञ्चालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्थासँग गरेको मर्जर प्रक्रिया अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताउनुभयो । हाल यो संस्थाको प्रधान कार्यालय भीरकोट नगरपालिका १ बयरघारीमा रहेको छ ।

त्यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने र भविष्यमा अन्य उपयुक्त लघुवित्तीय संस्थाहरूलाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्