सीमाको विवादित जग्गामा दुवै देशका प्रहरीको स्थलगत निरीक्षण



भद्रपुर ।

दक्षिणी झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी बासिन्दाको जग्गाधनी पुर्जा भएको नेपाली भूमि भारतले मिचेको विषयमा स्थानीय प्रहरी, प्रशासनसँगै भारतीय सुरक्षाकर्मीले समेत घटनाप्रति गम्भीरतापूर्वक चासो देखाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) १९ बटालियन कम्पनीका संयुक्त टोलीले सीमा विवाद देखिएको जग्गाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै चासो देखाएका हुन् ।

​सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भक्तबहादुर थापा, बिओपी पाठामारीका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) दिलीप श्रेष्ठ, प्रहरी चौकी पाठामारी प्रहरी सहायक निरीक्षक भरत कोइराला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) १९ बटालियनका डिएसपी जयप्रकाश सिंह र पीडित जग्गाधनीसहित टोलीले विवादित जग्गाको निरीक्षण गरेका थिए ।

जग्गा निरीक्षण गर्दै एसएसबीले जीपीएसबाट नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमाको रेखाङ्कन हेरेका थिए । जीपीएसले हाल नेपाली भूमिमा गाडिएको सीमा पिलर नदेखाएको उपस्थिति जग्गाधनीहरू बताउँछन् । नेपाली भूमिमा गाडिएको ११२ र ९ देखि ११२ र १३ सम्मको सीमा पिलर शङ्कास्पद देखिएकोले घटनास्थलमै दुवै देशका सुरक्षाकर्मीबीच मौखिक भद्र सहमति भएको छ ।

हाल जोत भोग गर्दै आएको जमिनमा नेपाली कृषकले नै खेतीपाती गर्ने, त्यस जमिनमा आएर एसएसबीले अवरोध नगर्ने र पुनः सीमा सर्वेका लागि दुवै देशका सुरक्षाकर्मीले माथिल्लो निकायमा लिखित पत्राचार गरेर विवादित जग्गाको टुङ्गो लगाउने विषयमा एक प्रकारको मौखिक सहमति भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीपजंग कार्कीले जानकारी दिनुभयो ।

विवादित जग्गाको विषयमा जिल्लास्तरीय सुरक्षा निकायको बैठकमा राख्ने बताउनुभयो । जग्गाको बारेमा जिल्लास्तरीय प्रहरी, प्रशासन र भारतीय एसएसबीले छुटाछुटै रूपमा चासो देखाएर घटनास्थल पुगेको उहाँको भनाइ छ । कचनकवल–५ पाठामारी निवासी सहदेवसिंह राजवंशी र उनका भाइ गोविन्द राजवंशीको आमा फागनी राजवंशीको नाममा रहेको एक बिघा चार कट्ठा, मुनालाल गणेशको बुबा वेङ्गा गणेशको नाममा रहेको १५ कट्ठा, कुसुमलाल गणेशको नाम रहेको १० कट्ठा, हरिलाल यादवको १ बिघा ८ कट्ठा, श्यामबती देवी यादवको २ कट्ठा गरी करिब ६ बिघा ७ कट्ठा जग्गा भारतले खेतमै पिलर गाडेर कब्जा गरिसकेको उहाँहरू बताउनुहुन्छ ।

पुरानो दशगजाको बाटो त्यतिकै छ । त्यहाँ कुनै खेतीपाती लगाइएको छैन । त्यो बाटो नै अन्तर्राष्ट्रिय सीमा छुट्टाउने मुख्य बिन्दु हो । त्यहाँबाट अहिले पनि गाउँवासी आउजाउ गरिरहेका छन् । तर, दशगजादेखि करिब ३०० मिटरभित्र करिब ५ वर्षअघि खेतमै लगेर सीमा पिलर गाडेर राज्यबाट दमन भएको उनीहरूको गुनासो छ । ११२/७ देखि ११२/१४ सम्मको सीधा रेखाकंन मात्र गुगल म्यापले अन्तर्राष्ट्रिय सीमा छुट्टाएको बुझिएको छ । त्यसबाहेकको पिलर सबै शङ्कास्पद छ । यता, भारतले नेपाली भूमि कब्जा गरेको भन्दै स्थानीयबासीले कचनकवल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्