रावा बैंकले ३३ प्रतिशत लाभांश दिने



????????????????????????????????????

काठमाडौं (नेस) ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ३ प्रतिशत लाभांश र बोनस सेयर ३० प्रतिशतसहितको आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ । साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपियाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपियाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।

यसपछि बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपियाँ हुनेछ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपियाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताउनुभयो । उहाँले बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूका माध्यमबाट ग्राहकहरू समक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर बैंकको सञ्चालक समितिले नीतिगत निर्णय लिइरहेको र आगामी दिनमा समेत यसतर्फ निरन्तर कटिबद्घ रहिरहने बताउनुभयो ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै भौतिक तथा भर्चुअल माध्यमबाट सेयरधनीहरूको साधारण सभामा उपस्थिति रहेको थियो । साधारण सभामा बैंकका सेयरधनी क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो । अध्यक्ष डा. पाठकले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि सेयरधनी डमरु वल्ल्भ घिमिरे, रामगोपाल श्रेष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारणा राख्नुभएको थियो । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले जवाफ दिनुभएको थियो ।

सो साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधवप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेलको उपस्थिति रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्