नेपालको जीडीपी ३ दशमलव ९ प्रतिशतमा सीमित हुने



काठमाडौं ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२ र २३ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने बताएको छ ।

महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा संकुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दीतर्फ उन्मुख भएको प्रतिवेदनले उल्लेख गरिएको छ ।

महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एसियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको उल्लेख छ । सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्वअर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्