कृषकलाई बिउबिजन वितरण



स्याङ्जा ।

जिल्लाको वालिङका कृषकहरुलाई बिउबिजन वितरण गरिएको छ । नगरभित्रका कृषकलाई मौसमअनुसारका लहरेबालीका बिउबिजन वितरण गरिएको हो । वालिङ नगरपालिका र यूएनडीपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ को आयोजना तथा ‘उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र इविक’ को सहजीकरणमा बिउबिजन वितरण गरिएको थियो । बिउबिजन वितरण गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले कृषकको उत्पादन बढाउन र बजारीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । कृषकलाई विभिन्न सहयोग गर्दै लागत कम गर्ने र कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेमा नगरको जोड रहेको उहाँले बताउनुभयो ।

वालिङ नगरपालिका र युएनडीपीको आर्थिक सहयोगमा हिउँदे तरकारीको बिउ र बाख्रापालन गर्ने कृषकका लागि भटमासे जातको घाँसको बिउ वितरण गरिएको छ । वालिङ नगरपालिका व्यावसायिक तरकारी खेती तथा बाख्रा पालनका लागि योग्य स्थान रहेकाले कृषकको प्रोत्साहन तथा हौसलाका लागि बिउबिजन वितरण गरिएको उपप्रमुख तिवारीले बताउनुभयो । तरकारी खेतीका लागि आत्मनिर्भर हुने नगरपालिकाको लक्ष्य रहेको छ । यस्तै, नगरपालिकाको विभिन्न वडामा तरकारीको पकेट क्षेत्रसमेत घोषणा गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषकको उत्पादन बढेमा मात्रै समग्र नगरको आर्थिक विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कृषकको मेहनतलाई नगरले कदर गर्दै उनीहरुको काममा साझेदारी गरिरहेको छ ।’ कार्यक्रममा वालिङ नगरपालिका कृषि शाखा प्रमुख सुभास अर्यालले बिउबिजन लगाउने तरिका तथा यसबाट धेरै फल लिन सकिने तरिकाका बारेमा जानकारी गराउनुभएको थियो । दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कृषकको माग र आवश्यकताका आधारमा परियोजनामार्फत बिउबिजन वितरण भइरहेको जानकारी गराउनुभयो । कृषकले अनुदानमा पाएका सामग्री तथा बिउबिजनको राम्रो सदुपयोग गरिहेको आफूहरुले पाएको उहाँको कथन छ ।

नगरका १४ वटै वडाका कृषक समूह, व्यवसायिक कृषक तथा नव व्यवसायिक कृषकलाई विभिन्न चरणमा गरी ५ सय जनालाई बिउबिजन वितरण गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जनाउनुभयो । कृषकहरुलाई कृषिमा आकर्षण गर्नका लागि बिउबिजन वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्