लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले



लुम्बिनी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताउनुभएको छ । शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका पुग्नुभएका उहाँले सो बताउनुभएको हो ।

‘शान्तिदूत भगवान् गौतमबुद्ध जन्मिनुभएको र उहाँकै नामबाट देश–विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन’, मन्त्री आले भन्नुहुन्छ– ‘यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनुहोला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गराउनु मेरो दायित्व हो ।’ लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाको काम समयमै सम्पन्न गरिसक्न समेत मन्त्री उहाँले निर्माण व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ । लुम्बिनी क्षेत्रमा निर्माण भएका कामहरु गुणस्तरयुक्त हुनुपर्ने मन्त्री आलेको जिकिर छ ।

लुम्बिनी विकास कोषअन्तर्गत रहेको ११ सय ५५ बिगाहा जमिनमा थुप्रै भौतिक संरचना निर्माण भइसकेको छ । त्यसको ग्राइन्ड डिजाइनअनुसार कम्तीमा पनि ८१ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी रहेको १९ प्रतिशत काम पनि चाँडो टेन्डर प्रक्रियाबाट काम सुरु गराउन लुम्बिनीको विकास कोषका पदाधिकारीलाई उहाँले निर्देशन दिनुभएको थियो ।

मन्त्री आलेले लुम्बिनीमा निर्माण हुँदै गरेको ५ हजार जना मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलको गुरुयोजनाअनुसार मूल प्रवेशद्वारमा निर्माण गरिन लागेको गेट तथा सडकको शिलान्यास समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्