अलैंची उत्पादनमा भारी गिरावट



लमजुङ ।

लमजुङमा विगतका वर्षहरूका तुलनामा अलैंची उत्पादनमा भारी गिरावट आएको छ । आवश्यकता अनुसारको वर्षात् नहुँदा र विभिन्न प्रकोपले गर्दा यस वर्ष अलैंची उत्पादनमा गिरावट भएको हो । जिल्लामा यस वर्ष अलैंची उत्पादनमा गिरावट आएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अलैंची जोन लमजुङले जनाएको छ । यस वर्ष अलैंचीमा बगैंचामा रोग किरा लागेका कारण विरुवा नष्ट भई उत्पादनमा कमी आएको अलैंची जोनका अध्यक्ष अजय तामाङले बताउनुभयो । गत चैत, वैशाखमा परेको खडेरीको कारणले पनि अलैंची उत्पादनमा गिरावट आएको उहाँको भनाइ छ ।

जिल्लामा गत वर्ष चार सय ५० मेट्रिक टन अलैंची उत्पादन भएको थियो भने यसवर्ष तीन सय ३५ मेट्रिक टन मात्रै अलैंची उत्पादन भएको कार्यालयले जनाएको छ । कार्यलयका अनुसार जिल्लामा गत वर्ष एक हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार थियो भने चार सय ७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे छ । कार्यालयको तथ्यांकअनुसार गत वर्ष जिल्लामा एक हजार ५९ हेक्टर जमिनमा अलैंची खेती भएको थियो ।

व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा पनि गिरावट हुँदा कृषकहरू निराश बनेका छन् । दशकअघि प्रतिकेजी २ हजार ५ सयसम्म रहेको अलैंचीको हालको मूल्य आठ सयदेखि नौसयको हाराहारीमा रहेको छ । जिल्लाका कृषकहरूले भदौ महिनामा सात सयदेखि १२ सय मिटर उचाइसम्मको जमिनमा लगाइएको अलैंची टिप्ने गर्छन् ।

उनीहरूले उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा सोभन्दा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची असोज महिनामा टिप्ने गर्छन् । किसानहरू अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन् । दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश अलैंची कृषकहरूले सुकाएर मात्रै ग्रेडिङ गरेर बिक्री गर्ने गरेका छन् ।

लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकहरूले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् । जिल्लामा करिब १हजार ५ सय हेक्टर क्षेत्रफलमा व्यवसायिक अलैंची खेती हुँदै आएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्