ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं (नेस) ।

ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्थासमेत गरिएको थियो ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरूलाई हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा ४ दशमलव ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ११ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी २ दशमलव २६ अर्ब पुगेको छ ।

साथै, बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै साधारण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडीस्थित थप ३ नयाँ शाखा कार्यालयहरूको उद्घाटन पनि गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रसादले डिजिटल प्रविधिमार्फत् क्रमशः माथि उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८ औं शाखाको उद्घाटन गर्नुभएको थियो । यसपश्चात् उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरूको संख्या १०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्