भूगर्भका विद्यार्थीको प्रयोगात्मक अभ्यास शुरू



लमजुङ ।

त्रिविको भूगर्भ विभागका विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि लमजुङ आएका छन् । चुरे र महाभारत शृंखलाको बनोटको अध्ययनका लागि तीन जना प्राध्यापक र २५ जना विद्यार्थीको टोली लमजुङ आएको हो ।

डुम्रे–बेंसीशहर खण्डको विभिन्न भागमा दुई दिनसम्म टोलीले अध्ययन गरेको छ । अध्ययनपश्चात् उनीहरूले तनहुँको आँबुखैरेनीमा टुरमुकाम बनाएका छन् । विद्यार्थीलाई मुग्लिङ–नारायणगढ सडक खण्ड, डुम्रे–बन्दीपुर सडक खण्ड र डुम्रे– बेंसीशहर सडक खण्डको प्रत्यक्ष अध्ययन गर्न लगाएको त्रिविको भूगर्भ शास्त्र केन्द्रीय विभागका प्रमुख डा. खुमनारायण पौडेल बताउनुहुन्छ । उहाँका अनुसार उक्त विभागमा अध्ययनरत विद्यार्थीले पहिलो र तेस्रो सेमिस्टरमा सय/सय पूर्णांकको अध्ययन भ्रमण गर्नुपर्ने छ ।

सोही अध्ययनका आधारमा विद्यार्थीले पछि शोधपत्र पनि लेख्नुपर्ने भएकाले त्यसका लागि स्थलगत रूपमा विषयको गहिरो ज्ञान आर्जन होस् भन्ने उद्देश्यले प्रयोगात्मक अध्ययनका लागि ल्याइएको डा. पौडेल बताउनुहुन्छ । उहाँका अनुसार विद्यार्थीले चुरे र महाभारतको बनोटका बारेमा र त्यहाँको खनिज, बाढी–पहिरो, भूक्षयको अवस्था, भूमिगत जलस्रोत, नदीनाला आदि सबै अध्ययन गरी विद्यार्थीले प्रतिवेदन तयार गर्दछन् ।

विद्यार्थीलाई डुम्रे–बेंसीशहर सडक खण्डको बेसीशहर नगरपालिका–१ चिप्लेटी, सुन्दरबजार नगरपालिका–९ को रामादी, तनहुँको कालिमाटी क्षेत्रमा अध्ययन गराइएको अध्ययन भ्रमणमा सहभागी रहेका उपप्राध्यापक डा. कमलकान्त आचार्यले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले विभिन्न स्थानको भूबनोटका बारेमा जानकारी लिने र त्यसमा के–कस्तो प्रविधि अपनाउँदा पहिरो नजाने, सकड बलियो हुने भन्ने बारेमा प्रयोगात्मक अध्ययन गराइएको हो ।

बाग्लुङ घर भएकी विद्यार्थी भीमा शर्माले किताबमा पढेको र ल्याबमा हेरको भन्दा प्रत्यक्ष अध्ययन गरेको अत्यन्तै उपयोगी लागेकोे बताउनुभयो । महाभारत शृंखलाको चट्टानको बनोटका बारेमा अध्ययन गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । विद्यार्थीलाई १४–१४ दिनको फरकमा हेटौंडा र लमजुङ अध्ययन गराउने कार्यक्रम रहेको टोलीका सहजकर्ता सहायक प्राध्यापक इन्द्र लम्सालले बताउृनुभयो ।

प्रतिक्रिया दिनुहोस्