महासंघ र ईप्पानबीचको वार्ता निष्कर्षविहीन



काठमाडौं (नेस) ।

बिमाको दररेट र शर्तहरू संशोधन सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को संयुक्त प्रतिनिधिमण्डल र बीमा समितिबीच मंगलबार भएको वार्ता बिनानिष्कर्ष सकिएको छ ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँगको भेटमा समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघले जनाएको छ । गत असोज ६ मा जारी पुनर्बिमा निर्देशिका, २०७८ मा बिमाको दररेट र शर्तहरू हालसम्म संशोधन नभएकोले त्यस्तो अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र ईप्पानले माग राखेका छन् ।

महासंघ र ईप्पानले बिमा समितिलाई दुई पटक र प्रधानमन्त्रीलाई समेत संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाए पश्चात् बिमा समितिले महासंघ र ईप्पानलाई मंगलबार वार्तामा बोलाउँदा बिमा समितिले कुनै निकास नदिएकोले निर्देशिका खारेज नभएमा ईप्पान र महासंघले संयुक्त रूपले चरणबद्घ आन्दोलन गर्ने जानकारी गराएको छ ।
निर्देशिका खारेज नभएसम्म बिमा समितिसँग कुनै पनि वार्ता तथा छलफल नगर्ने निर्णय महासंघ र ईप्पानले गरेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्देशिका खारेज भएपश्चात् सर्वपक्षीय सरोकारवाला निकायबीच विस्तृत छलफल हुनुपर्ने महासंघले माग गरेको छ । विदेशी बिमा कम्पनीसँग समेत बिमा गर्ने व्यवस्था हुनुपर्ने, बिमा गर्ने कार्य ऐच्छिक हुनुपर्ने, बिमा गरेको मितिदेखि नै क्षतिपूर्ति पाउनुपर्ने, खुला अर्थबजार नीतिअनुरूप स्वस्थ प्रतिस्पर्धा गरिनुपर्ने लगायतका व्यवस्थासहितको निर्देशिका जारी गर्न महासंघका अध्यक्ष रवि सिंहले बिमा समिति समक्ष माग गर्नु भएको थियो । महासंघ र ईप्पानका मागहरू तत्काल सम्बोधन नभएमा सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्