धान उत्पादन पाँच वर्षयताकै कम



काठमाडौं (नेस) ।

चालु आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा धान उत्पादनमा ८दशमलव ७४ प्रतिशतले कमी आएको हो । चालु आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरे तापनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बेमौसमी वर्षाले किसानको धानमा क्षति पुर्याउदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१ दशमलव४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।

यस्तै गरी लुम्बनी प्रदेशमा १८दशमलव ३८ प्रतिशत, प्रदेश नं १ मा ० दशमलव ९३ प्रतिशत, प्रदेश नं २ मा ५दशमलव २४ प्रतिशत, वागमती प्रदेशमा ०दशमलव ३५ प्रतिशत र कर्णालीमा ८ दशमलव ७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रूपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।

चालु आवमा गण्डकी प्रदेशमा मात्र २ दशमलव ३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्