ग्लोबल आइएमई बैंक १६औं वर्षमा



काठमाडौ (नेस) ।

ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९कर्मचारीलाई सम्मान गरेको छ । आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुंगा पार गरेकोमा सम्मान गर्नुभएको छ । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरूलाई सम्मान गर्नुभएको हो ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा एक्विजिसनमार्फत् आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताउनुभएको छ । प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहक मैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समय सापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताउनुभयो ।

हाल बैंकको ३३.७५ अर्ब रुपियाँ सेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपियाँ कर्जा लगानी रहेको छ । त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखारहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार २ सयभन्दा बढी कर्मचारी तथा २७ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रूपमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्