नयाँ वर्षको गन्तव्य कालिञ्चोक



दोलखा ।

धार्मिक एवं प्राकृतिक पर्यटकको केन्द्र बनेको दोलखाको उच्च क्षेत्र कालिञ्चोक क्षेत्रमा लगातार हिमपात भएपछि भारतलगायत नेपालका विभिन्न ठाउँबाट ठूलो संख्यामा पर्यटक पुगेका छन् । इस्वी सम्वत् २०२२ को पहिलो दिन झन्डै १० हजार पर्यटक त्यहाँ थिए ।

साना–ठूला गरी झण्डै १ सयवटा होटल रहेको कालिञ्चोक क्षेत्रमा पर्यटकको अत्यधिक चाप बढेपछि सदरमुकाम चरिकोट र दोलखाका होटलसमेत भरीभराउ भएका थिए । कालिञ्चोक पुगेका धेरै पर्यटक क्याम्प फायर गरेर रातभर बसेको कालिञ्चोक कुरीका होटल व्यवसायी हरि ओलीले बताउनुभयो ।

पुस १७ गते कालिञ्चोक मन्दिरका लागि सञ्चालनमा रहेको केबरकार ३ हजारभन्दा बढीले प्रयोग गरेको कालिञ्चोक केबलकारमा कार्यरत सन्देश शिवाकोटी बताउनुहुन्छ । कालिञ्चोक पुगेका धेरै पर्यटक ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको मन्दिर परिसरसम्म पैदलै गएका थिए । केही पर्यटक भने कुरी क्षेत्रमा हिउँसँग रमाएर फर्किएका थिए ।

कोरोना संक्रमणका कारण अघिल्लो वर्ष पर्यटक आगमन लगभग शून्यको अवस्थामा रहेको कालिञ्चोकमा यो वर्ष २०२२ को पहिलो दिनमै अत्यधिक पर्यटक पुगेपछि कालिञ्चोक कुरीका होटल व्यवसायी उत्साहित बनेका छन् ।

कालिञ्चोक मन्दिरको धार्मिक महत्व र हिमालले घेरिएको प्राकृतिक सुन्दरतामा हिमपातले थप सुन्दरता थपिने भएपछि यो क्षेत्रमा रमाउने पर्यटक बढ्दै गएका हुन् । चरिकोटबाट करिब १७ किलोमिटरको दूरीमा रहेको कालिञ्चोक मन्दिरसम्म पुग्ने सडकमा समयमै पिच तथा ढलानको काम सकिने हो भने पर्यटकको संख्यामा अझ वृद्धि हुने होटल व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्