युवाको आकर्षण लोकल कुखुरामा



पाल्पा ।

विकासे कुखुराको भन्दा स्थानीय जातको कुखुराबाट फाइदा बढी हुने भएकाले पाल्पाका युवा पछिल्लो समय स्थानीय जातका कुखुरापालन व्यवसायप्रति आकर्षित हुन थालेका छन् । विकासे कुखुराको स्वादभन्दा स्थानीय जातको कुखुराको स्वादमा फरकपन पाइने तथा बजारको समस्या नभएकाले स्थानीय जातका कुखुरापालन व्यवसायप्रति युवाको आर्कषण बढ्न थालेको हो ।

जिल्लामा स्थानीय जातको कुखुराको मूल्य कम्तीमा १ हजार प्रतिकिलो रहेको छ । उत्पादन जति धेरै भए पनि बजारको समस्या नभएको र घर–घरबाटै बिक्री हुने भएपछि युवा स्थानीय (लोकल) कुखुरा पालनमा होमिएका हुन् । पछिल्लो समयमा जिल्लाको तिनाउँ गाउँपालिका–६ मस्याम, रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादी, रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वर र वडा नं ३ भुवनपोखरीमा व्यावसायिकरूपमै लोकल कुखुरापालन गरिँदै आएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका युवासमेत लोकल कुखुरा पालनमा जुटेका हुन् । स्थानीय जातका कुखुराको बजार मूल्य राम्रो भएको, उत्पादन अनुसारको बिक्री भएकाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आर्थिक तथा सिफारिसमा पोषण सुधारका लागि स्थानीय जातको कुखुरा पालनमा सहयोग गर्दै आएको छ । पशुसेवा कार्यालयले कुखुरापालनका लागि कृषकहरुले आधुनिक खोर निर्माण तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

मैनादी कृषि सहकारी संस्थाको व्यवस्थापनमा रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका ३० घर–परिवारले लोकल कुखुरा पालन गर्दै आएका छन् । लोकल कुखुरा पालनबाट स्थानीय कृषक उत्साहित भएका छन् । सहकारीले गत वर्ष ३० जना घर–परिवारले लोकल कुखुरा पालन गरेकोमा यस वर्ष ६० जना घर–परिवारमा पालन गर्ने, अर्को वर्ष १ सय घर परिवारमा पालन गर्ने गरी सहकारीले योजना बनाएको छ । कुखुरा पालन व्यवसाय सञ्चालन गर्न भेटेरिनरी विज्ञ केन्द्रले प्रतिसमूह ५ लाख रुपियाँ सहयोग गर्दै आएको छ । लोकल कुखुराबाट उत्पादन राम्रो भएको कृषकहरु उत्साहित भएकाले गाउँभर नै उत्पादन बढाउने योजना रहेको सहकारीका अध्यक्ष वेनबहादुर पुनले बताउनुभयो ।

पशुसेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाल्पा जिल्लामा १ करोड ६७ लाख ८८ हजार ६ सय अण्डा उत्पादन भएको छ । जिल्लामा १ सय ८० वटा व्यावसायिक कुखुरापालन फर्म सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्